काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई संस्कार परिवर्तनका लागि भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका हुन्।केसीले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टिप्रति भएको उल्लेख गरे ।
तत्कालीन सरकारको दमनको कारणले जेन जी आन्दोलन भएको बताउँदै सांसद केसीले भने, ‘यो आन्दोलन कुनै दल विशेषको पक्ष या विपक्ष भन्दा पनि सरकार परिवर्तनको लागि मात्र होइन, संस्कार परिवर्तनको निम्ति थियो, सरकारको शैली परिवर्तनको निम्ति थियो, सुशासनको निम्ति थियो, विधिहीनता र दण्डहीनताको अन्त्यको निम्ति थियो। आन्दोलनको मर्मअनुसार चल्न सकेको छौँ कि छैन त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ।’
अहिले चारैतिर हाहाकारको स्थिति रहेको बताउँदै केसीले भने, ‘हामी एकै ठाउँ उभिएर यो अहिलेको प्रथम समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता छ। बाढीमा फसेकाहरूको सुरक्षाका लागि पनि केही अपुग भएको छ।’
केसीले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरे। उनले बाढी प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत वितरण गर्नुपर्ने र नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारले विशेष जोड दिनुपर्ने बताए।




प्रतिक्रिया