अमरेश सिंहको आरोपः देशमा गुण्डा शैलीको हुकुमी शासन चलिरहेको छ

अमरेश सिंहको आरोपः देशमा गुण्डा शैलीको हुकुमी शासन चलिरहेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले आफ्नै पार्टीको सरकार गुण्डागर्दी शैलीमा चलिरहेको आरोप लगाएकाम छन् ।

उनले संविधानले परिकल्पना गरेभन्दा फरक ढंगले हुकुमी शासन चलिरहेको आरोप लगाए । सरकार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारबाट नभई उनका सल्लाहकारले ज्वागलबाट चलाइरहेको उनको आरोप थियो ।

‘हाम्रो संविधानमा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर, प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकार व्यवस्थामा परिणत भएको छ । यो संविधानको कुन व्यवस्थामा छ, कुन दफामा छ मैले बुझ्न सकेको छैन’, उनले भने, ‘सल्लाहकारलाई प्रधानमन्त्रीलाई सल्लाह दिने योग्यता छ भने प्रानमन्त्रीको कानमा दिर्औं, लेखेर दिऔं । मलाई लाग्दैन कि उहाँका सल्लाहकार हाबर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होस् । सरकारको केन्द्र मैले बुझेको थिएँ सिंहदरबार । तर, सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ ।’

संविधानको चार पिलरका रुपमा रहेका गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिपरपेक्षतामाथि सरकारबाट बारम्बार प्रहार भइरहेको टिप्पणी सिंहले गरे । सिंहले जासुसी संयन्त्रका मानिस भेट्न प्रधानमन्त्रीका सल्लाहकार लुकेर भारत गएको आरोप लगाए । सिंहले उक्त कार्यले मुलुकको प्रतिष्ठा नाश भएको बताए ।

‘एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ । राज्यको ढडुकुटीबाट तलब भत्ता मन्त्रीको सरह खान्छ । म त्यो सल्लाहकार भएको भए टाइसुट लगाएर त्रिभुवन एयरपोर्टबाट डिल्ली एयरपोर्ट झर्थें । वर्ता गर्थें र प्रधानमन्त्रीलाइ सुनाउँथे’, सिंहले भने, ‘लुकेर के कुरा भयो ? कम्तिमा हामी संसद् सदस्यले थाहा पाएको भए अनुग्रहित हुन्थें । त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन । भन्दिने हो भने म भन्दिन्छु । दिल्लीको लीला प्यालेसको सेकेण्ड फ्लोरमा बसेको हो । म दिल्लीमै पढेको हो । थाहा छ लीला प्यालेस होटल कहाँ छ ।’

कर्मचारी प्रशासनका व्यक्ति, प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई ज्वालग बोलाएर धम्की दिने गरिएको भन्दै सिंहले आपत्ति जनाए ।

एक घटनामा सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर काँधमा पेस्तोल राखिएको दाबी उनको छ ।

‘सम्पत्ति शुद्धीकरणको डिजीलाई बोलाएर कसरी राति एक बजे कञ्चटमा पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई दुई बजेभित्र रेड कर्नर नोटिश जारी गर । म त्यो घटना पनि उल्लखे गर्न चाहन्न प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ ।’

आफू गुटमा नभई पार्टीमा विश्वास गर्ने व्यक्ति भएकाले ब्रम्हजियाको पेडा लिएर ज्याल नजाने टिप्पणी सिंहले गरे ।

‘मेरो गल्ती भएको होला । म ब्रम्हजियाको पेडा लिएर ज्वाःगल पुुगिन होला । म पत्रकारहरुको पीडा लिएर पुगिन होला । सांस्द भएर पुगिन होला । म गुटमा विश्वास गर्दिन, म पार्टीमा विश्वास गर्छु’, उनले भने । सिंहले सरकार संसदप्रति जवाफदेही नभएको पनि आरोप लगाए । सरकारले संसद् नभई संसदले सरकार जन्माउने तथ्य नबिर्सन उनले भने ।

‘सचिवालयको सरकार नभएर, सल्लाकारको सरकार नभएर प्रधानमन्त्रीको शासन होस् । संसदप्रति उत्तरदायी होस् । संसदले सरकार बनाउने हो, सरकारले संसद् बनाउने होइन’, उनले भने, ‘हामी सांसद् ‘वाच डग’ को रुपमा काम गर्छौैैं, हामी कसैको ‘रबर स्ट्याम्प’ होइनौं ।’