बालेन्द्रलाई अमरेशको चेतावनीः तपाईंको सत्ता तासको पत्ता हो, तपाईंको नाश लेखेको छ

बालेन्द्रलाई अमरेशको चेतावनीः तपाईंको सत्ता तासको पत्ता हो, तपाईंको नाश लेखेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई वर्तमान सत्ता ‘तासको पत्ता’ जस्तै रहेको चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले मधेसी समुदायको बलमा सरकारमा बनेको सरकारले सबैभन्दा धेरै मधेसलाई नै उपेक्षा गरिरहेको भन्दै सिंहले मधेसीलाई हेपिएको परिणाम भोग्न तयार रहन चेतावनी दिए ।

‘म यहाँ आउँदा बिहानै दलितको नेता भोला पासवान सप्तरीबाट आउनुभएको थियो । उहाँले रुँदै भिडियो देखाउनुभएको थियो बबिता पासवानको । कि यो राज्य कति मधेसीप्रति पूर्वाग्रही छ’, सिंहले भने, ‘तर, म रुँदिन । तपाईं मधेसीको बलमा सरकारमा पुग्नुभएको छ । तपाईं तासको पत्ता हो’, उनले भने, ‘तपाईंका लागि यही व्यक्ति बोलेको थिएँ कि यो सरकार बनेन भने आत्मदाह गर्छु । र, यही ठाउँबाट भन्न चाहन्छु कि तपार्ई मधेसीलाई तवाह गर्न खोज्नु हुन्छ, तपाईंको नाश लेखेको छ ।’

सिंहले आफू एउटा समुदाय, भूगोल र रास्वपाको नेता भएको उल्लेख गर्दै पार्टीले संविधानलाई अक्षरशः पालना गर्ने तथा हिमाल, पहाड र मधेसलाई समान रूपमा हेर्ने बताए । तर सरकार गठन भएदेखि नै मधेसीमाथि प्रहार भइरहेको उनको आरोप छ ।

उनले दीपक साहको बर्खास्तीदेखि उद्योगमन्त्री गौरीकुमारी यादवको बहिर्गमनसम्मलाई मधेसीमाथिको पूर्वाग्रहको उदाहरणका रूपमा प्रस्तुत गरे।

‘गौरीकुमारीको राजीनामा होइन, बर्खास्त गरिएको छ । किनकि रुँदै निस्किएको मैले भर्खर देखेको हो,’ उनले भने ।

सिंहले मधेसीको सपनाका रूपमा रहेको बर्दिबास मेडिकल कलेजको सपना वर्तमान सरकारले समाप्त पारेको आरोप लगाए । साथै किसानलाई मल र गृहिणीलाई ग्याससमेत उपलब्ध गराउन नसकेको भन्दै सरकारको औचित्यमाथि प्रश्न उठाए ।

स्वास्थ्य क्षेत्रमा मधेसीलाई नियुक्तिमा उपेक्षा गरिएको दाबी गर्दै उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका राजनीतिक नियुक्तिमाथि प्रश्न उठाए । शिक्षा क्षेत्रमा पनि समावेशिताको धज्जी उडाइएको र विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भइरहेको उनको आरोप थियो ।

‘त्यत्रा उपकुलपति, रेक्टर नियुक्त भए, एउटा पनि मधेसी छैन । के मधेसी यो देशको नागरिक होइन ? मधेसी सक्षम छैन ? मधेसी, दलित, महिला सबैको समान अधिकार हो,’ सिंहले भने ।

सरकारका मन्त्रीहरुबाट सञ्चारकर्मीलाई धम्क्याउने प्रवृत्तिको समेत उनले विरोध गरे । पत्रकारले गलत गरेको भए कानुनअनुसार कारबाही गर्न सकिने तर धम्की दिने अधिकार कसैलाई नभएको सिंहले स्पष्ट गरे ।

‘सञ्चारकर्मीलाई धम्क्याइन्छ । गलत गरेको छ पत्रकारले भने कारबाही गर्नुस्, तर तपाईंलाई धम्की दिने अधिकार कसले दियो ? उनले प्रश्न गरे ।

सिंहले संविधानमा सुनिश्चित गरिएको समावेशितामाथि सरकारबाट बारम्बार प्रहार भइरहेको आरोप लगाउँदै सरकारको कार्यशैली सच्याउन चेतावनी दिए ।

साथै आर्थिक अभावका कारण मधेसी महिलाले अस्पतालमा सुत्केरी हुनसमेत नपाउने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।