काठमाण्डु– एमालेको पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् ।
दुवै प्रतिवेदनमाथि शनिबारदेखि थप छलफल गरी एउटै प्रतिवेदन बनाउने तयारी गरिएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन सदस्यहरूसमक्ष प्रस्तुत गरेका हुन् ।
निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम, त्यसका कारण तथा अब पार्टीलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर प्रतिवेदन तयार गरिएको छ ।
कार्यदलका सदस्यहरूले शुक्रबार दुवै प्रतिवेदन प्राप्त गरे पनि बैठकमै त्यसको विस्तृत अध्ययन तथा छलफल गर्ने काम भने भएन ।
प्रतिवेदनमा समेटिएका विषय अध्ययन गरेर मात्रै साझा निष्कर्षमा पुग्ने भन्दै बैठक स्थगित गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमा रहेका विषयलाई आधार बनाएर कार्यदलले साझा दस्तावेज तयार गर्नेछ ।
‘आज प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ आचार्यले भने ।
कार्यदल शनिबारदेखि आवासीय रूपमा बसेर प्रतिवेदनका विषयमा बुँदागत छलफल गर्नेछ । छलफलका क्रममा दुवै प्रतिवेदनका समान धारणा तथा मतभेद रहेका विषय पहिचान गरी साझा निष्कर्ष निकालिनेछ ।
एमालेले निर्वाचनपछि पार्टीको अवस्था, संगठन सञ्चालन, नेतृत्व तथा आगामी कार्यदिशाबारे समीक्षा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले विभिन्न तहका नेता तथा कार्यकर्ताबाट सुझावसमेत संकलन गरेको थियो ।
अब दुवै प्रतिवेदनमाथिको छलफलपछि कार्यदलले पार्टीको समीक्षा र पुनर्गठनका लागि प्रस्तावसहितको एउटै प्रतिवेदन तयार गर्नेछ ।




प्रतिक्रिया