काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीमा उद्धार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन नेपाल प्रहरीले टीटुटी (टिमुरे टु त्रिवेणी) अपरेसन सञ्चालनमा ल्याएको छ ।
प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ ।
टीटुटी अप्रेसनमा खोज तथा उद्दारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवम् ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गर्न नेपाल प्रहरी अग्रसर भई लागिपरेको छ ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानहरूमा बगाई वा हराइरहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई विशेष प्राथमिकतामा राखेर उद्धार तथा खोजी कार्य गर्न पत्राचार गरिएको छ । मृतकको शव वा शरीरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रक्रियाहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रक्रियाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवम् केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले टीटुटी अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ ।’
बाढी प्रभावित विभिन्न जिल्लाहरूमा टीटुटी अपरेसनमा प्रहरी परिचालन
बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा टीटुटी अपरेसनअन्तर्गत प्रहरीले सक्रियता बढाएको छ । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, फोटो मोनिटरमा देखाई शव पहिचानमा सहजीकरण, डीएनए प्रोफाइलिङको लागि नमूना संकलन, आवश्यक कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि शवलाई सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका साथ कार्य गरिरहेको छ ।
भौगोलिक विकटकताका कारण उद्धारकर्ता एवम् केनाइन समेत पुग्न नसक्ने स्थानहरूमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै अन्य निकायसँग समन्वय र सहकार्यमा खोज कार्यलाई तीव्रता दिएको छ । अवरोध भएका सडक मार्गहरू खुलाउन एवम् सडक मार्ग नभएका स्थानहरूमा तुइनमार्फत सर्वसाधारणलाई सुरक्षित आवतजावतमा सहजीकरण समेत गरिएको छ ।
प्रभावित नागरिकहरूलाई सम्झाइबुझाइ, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, आपतकालीन रक्तदान कार्यक्रम सञ्चालन, सवारीसाधनमा चढाउन/यातायातमा सहयोग, भीडभाड तथा आपतकालीन अवस्थामा माइकिङ गर्न सामुदायिक प्रहरी क्रियाशील रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखामार्फत समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय समुदाय विषेश गरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै टीटुटी अपरेसनलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ ।




प्रतिक्रिया