बाबुराम भट्टराईको सुझाव-कुनै द्विविधामा नरही भारत र चीनबट अधिकतम लाभ लिनुपर्छ

बाबुराम भट्टराईको सुझाव-कुनै द्विविधामा नरही भारत र चीनबट अधिकतम लाभ लिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भारत र चीनको बढ्दो सहकार्यबाट अधिकतम लाभ लिन सक्नुपर्ने सुझाव दिएका छन् ।

भारतमा जारी १८ औँ ब्रिक्स शिखर सम्मेलनको सन्दर्भमा आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ब्रिक्सदेशहरूको दिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक हो ।’

नेपालजस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको तथा दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको अल्पविकसित देशले अब कुनै द्विविधामा नरही त्यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्ने भट्टराईको सुझाव छ ।

उनले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्दा देश अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको भन्दै सजग गराएका छन् ।

‘चिनियाँ राष्ट्रपतिले द्विपक्षीय वार्ताका क्रममा प्रयोग गरेका ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ भन्ने शब्दको निहितार्थ तथा भारतको अगुवाइमा सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशावोध नेपालले बुझ्नुपर्छ’ उनले उल्लेख गरेका छन् ।

भट्टराईले उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल नगरी नेपालजस्ता सापेक्ष रूपमा साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न नसक्ने बताएका छन् ।

आगामी दिनमा चीन र भारतबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्यको लाभ उठाउन नेपालले कुशल कूटनीतिक प्रयास गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’मा रूपान्तरण गर्ने कार्यको योजनाबद्ध सुरुआत आजैदेखि गर्नुपर्ने उनले जोड दिएका छन् ।

‘अन्यथा ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ भन्ने परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न नेपाल अभिशप्त हुने छ’, भट्टराईको चेतावनी छ ।