जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागे, एक करोड ३९ लाख ठगेर पक्राउ परे

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागे, एक करोड ३९ लाख ठगेर पक्राउ परे


काठमाण्डु– जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी फरार अवस्थामै नक्कली सुन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–१ घर भई काठमाण्डुको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापालाई टोखा नगरपालिका–९ मिलनटोलको एक गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार थापाले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक रकम असुल्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले यसरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

थापा यसअघि जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेपछि उनी फरार थिए ।

फरार रहेका थापाले आफ्नो पहिचान लुकाउँदै ठगी गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेपछि प्रहरीले ठगीसम्बन्धी घटनामा थप अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाण्डुले थापामाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।