काठमाण्डु – जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा बाढी आउँदा भेरी करिडोर सडक अवरुद्ध भएको छ भने पसल बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार गएराति परेको अविरल वर्षाका कारण खोलामा बाढी आएको हो ।
बाढीले वडा नम्बर १ बैरीतालमा व्यापार गर्दै आएका स्थानीयको भौतिक संरचनामा क्षति पुर्याएको छ। ८ जनाले व्यवसाय गर्दै आएका घर तथा अस्थायी टहरा बाढीले बगाएको छ।
प्रहरीका अनुसार स्थानीय मानबहादुर विकको तीन कोठे टहरा पूर्ण रूपमा बगाएको छ। बबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एक कोठे अस्थायी टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थायी टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरा र बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा बाढीले बगाएको छ। जनक भण्डारीको अस्थायी टहरामा रहेको फ्रेस हाउस र त्यहाँ रहेका १०० वटा बोइलर कुखुरासमेत बगाएर पूर्ण क्षति पुगेको छ।
यस्तै दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति भएको छ। छवि महरको भे १ ह २६३३ नम्बरको अटोमा हिलोपानी पसेर पुरिएको छ। हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्याक्टर माटोले पुरिएर आंशिक क्षति भएको छ। सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्ण रूपमा बगाएको छ।
बाढीले सडक अवरद्ध भएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्थामाा छ । भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ।




प्रतिक्रिया