सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै कठिन स्थानहरूमा खटिएर काम गर्दैछन् : गृहसचिव शर्मा

सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै कठिन स्थानहरूमा खटिएर काम गर्दैछन् : गृहसचिव शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरूमा कुनै किसिमबाट विचलित नभई खटिँदै आइरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई थप संवेदनशील विषय तथा समयसापेक्ष आवश्यक तालिम प्रदान गर्नुका साथै स्रोतसाधन सम्पन्न गराउनुपर्ने बताएका छन् ।

भदौ २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले सशस्त्र प्रहरीको प्रशंसा गरे ।

विपद्को जोखिम बढ्दै गएको हुँदा त्यसको न्युनीकरणका लागि आवश्यक जनशक्ति, पूर्वतयारी, प्राप्त स्रोतसाधनको प्राथमिकीकरण तथा व्यवस्थापन र जनचेतनाका लागि प्रचारप्रसारणमा समेत ध्यान दिनुपर्ने बताए ।

उनले सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूको सीमा क्षेत्रका स्थानीय जनताहरूसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले सीमावासीसँगको सम्बन्धलाई सुमधुर बनाउँदै सीमा सुरक्षा गर्न र सीमा क्षेत्रमा बढ्दै गएको अपराध तथा अवैध कारोबार नियन्त्रण गर्न आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै थप चनाखो भई परिचालन हुन समेत निर्देशन दिए ।

गृहसचिव शर्माले सुरक्षा निकायबिच आपसी समन्वयमा काम गर्न सकियो भने फिल्डमा कार्यसम्पादन प्रभावकारी हुने उल्लेख गर्दै सोको लागि कुनै पनि घटनाको सम्बन्धमा सूचना आदानप्रदानको वातावरणलाई थप सशक्त बनाउन जरुरी रहेको बताए ।

सशस्त्र प्रहरीसँग सम्बन्धित नियम तथा नियमावलीका कमजोर पक्षहरूलाई सुदृढ बनाउन, थप कानूनमा समेट्न तथा परिमार्जनका प्रस्तावहरू तयारी गरी मन्त्रालयमा पठाउनुपर्ने बताउँदै उनले सशस्त्र प्रहरी बल नेपालका विद्यमान समस्याहरू सहजीकरण र आवश्यक निर्णयहरूमा समेत मन्त्रालय सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले गृह प्रशासनसँग लामो समय नजिक भएर काम गरेको अनुभव भएको नेतृत्वलाई अभिभावकका रूपमा पाएकोमा खुशी व्यक्त गर्दै गृहसचिवबाट प्राप्त अमूल्य मार्गदर्शन, नीति निर्देशनलाई अक्षरश पालना गर्ने बताए ।

उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त म्याण्डेट अनुसार पूर्ण व्यावसायिक र इमान्दारितासाथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनका विद्यमान समस्या समाधान, जनशक्ति तथा स्रोतसाधनको व्यवस्थापनमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने अपेक्षा समेत व्यक्त गरे ।

सोही अवसरमा गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको फायर फाइटिङ, रोप रेस्क्यु, माउण्टेन रेस्क्यु, वाटर रेस्क्यु, डिप डाइभिङ, लाइफ डिटेक्टिङ र कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) का उपकरणहरू तथा ड्रोन लगायतका सामग्रीहरूको अवलोकन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बल नेपालको कार्यादेश, संरचना, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग, सीमा सुरक्षामा परिचालन तथा विद्यमान सुरक्षा चुनौती लगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारी लाइभ भिडियो स्ट्रीमिङमार्फत सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरू, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति थियो ।