काठमाण्डु – युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने भएको छ ।
मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबिच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा सोमबार बृहत् छलफल गरिएको छ ।
मन्त्रालयले ‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ लाई सफल बनाउन कोशी प्रदेशको इटहरीबाट ‘सीप तथा रोजगार मेला’ सुरु गर्ने निर्णय गरेको छ । मेलालाई प्रभावकारी रूपमा युवालाई सीप तथा रोजगारीसँग जोड्न देशका सातै प्रदेशमा विस्तार गरिनेछ ।
मन्त्रालयको टोलीले इटहरी पुगेर त्यहाँका सरोकारवाला पक्षसँग ‘सीप तथा रोजगार मेला’का विषयमा बृहत् छलफल गरेको छ । सरोकारवालाले उत्साहजनक सहभागिता जनाउँदै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मेला केवल औपचारिकतामा सीमित नभई रोजगारदाताको वास्तविक श्रमिक आवश्यकता पहिचान गरी कार्यस्थलमा आधारित तालिम प्रदान गर्दै सोझै रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ । मन्त्रालय र निजी क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको मेलामा कृषि, अटोमोबाइल, एआई तथा डिजिटल सीप लगायतका तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले ‘सीप तथा रोजगार मेला’ सफल बनाउन आफूहरू सकारात्मक रहेको र आवश्यक सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए । मन्त्रालयले उद्योग तथा व्यवसायीहरूलाई आगामी ५–६ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र स्तरबारे स्पष्ट माग प्रस्तुत गर्न आग्रह गरेको छ ।
छलफलमा बोल्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित बनाउँदै सकेसम्म धेरै युवा जनशक्तिलाई रोजगारीमा जोड्नु रहेको बताएका छन् ।




प्रतिक्रिया