सैनिक अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिइएको विषमा संसदमा उठ्यो प्रश्न

सैनिक अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिइएको विषमा संसदमा उठ्यो प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवा बाढीपछि जलविद्युत आयोजनाको सुरुङमा थुनिएर १० दिनपछि सकुशल उद्धार भएका व्यक्तिको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा आइसीयूमै अन्तर्वार्ता लिइएको विषयबारे संसदमा प्रश्न उठेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तारुढ रास्वपा सांसद् समीक्षा बाँस्कोटाले उक्त विषयमा आपत्ति जनाएकी हुन् ।

उपचारका लागि आईसीयूमा राखिएका बिरामीसँग अन्तर्वार्ता लिएर सार्वजनिक गरिनु गम्भीर विषय भएको उनले बताइन् ।

गम्भीर अवस्थाका बिरामीको उपचार हुने आईसीयुमा अन्तर्वार्ताका लागि अनुमति दिने व्यक्तिबारे छानबिन गरी कारबाही हुनुपर्ने माग उनको थियो । उक्त अन्तर्वार्ताले बिरामी र अस्पतालको संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको बताइन् ।

‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ,’ उनले भनिन्।

रसुवा बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि उद्धार गरिएको थियो ।

सैनिक अस्पतालको आईसीयूमा उपचाररत उनीहरुको ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलमा केही दिनअघि अन्तर्वार्ता प्रसारण भएको थियो ।

‘आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विषय कक्ष हो । यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनियता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ’, उनले भनिन्, ‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशिलतालाई उदांगो पारिदिएको छ ।’

बिरामीको जीवन र उपचारभन्दा ठूलो अरु केही हुन नसक्ने भन्दै उनले अन्तर्वार्ता लिने र अनुमति दिने दुवै पक्षमाथि छानबिन र कारबाही हुनुपर्नेमा जोड दिइन् ।

बास्कोटाले उक्त अन्तर्वार्ताले अस्पताल र सञ्चारकर्मीको संवेदनशीलतामा पनि प्रश्न खडा भएको बताइन् ।


नबकालक बिरामीलाई समेत निश्चित प्रोटोकल पालना गरेर मात्र भेटघाटका लागि अनुमति दिइने स्थानमा क्यामेरा, क्यामेरा पर्सन र अन्तर्वार्ता लिने व्यक्तिको सहज पहुँच कसरी सम्भव भयो भन्ने प्रश्न उनको थियो ।

‘अस्पतालमा उपचाररत बिरामी अझ आइसीयूमा अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्राक्टिस हो ? विपदमा स्वास्थ्य पत्रकारिताको इथिक्स के हो ? आइसीयुमा अन्तर्वार्ता लिने दुई बिरामी मात्र हुनुहुन्थ्यो कि आईसियूमा अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरुको जीवनलाई रिस्कमा राख्न मिल्छ कि मिल्दैन ?’, उनले भनिन्, ‘अन्तर्वार्ता लिनका लागि क्यामेरा, क्यामेरा मेनसहित व्यक्तिहरुको उपस्थिति हुने गर्छ । यो आफैंमा क्रिटिकल केयर युनिट हो, त्यस्तो क्रिटिकल केयर युनिटमा हामी कत्तिको संवेदनहशील भएर एक घण्टाको अन्तर्वार्ता दियौं ? यो आफैंमा संवेदनशील छ ।

मानिसको जीवनभन्दा ठूलो कुनै अन्तर्वार्ता, कन्टेन्ट र भ्यूज हुँदैन । मानिसको जीवनलाई टिआरपीको मूल्यमा तौलिने काम बन्द हुनैपर्छ ।’