काठमाण्डु– भोटेकोशी बाढीमा बेपत्ता भएका बासुदेव लामिछाने ‘विश्वास’ को अझै अत्तोपत्तो छैन ।
रसुवाको उत्तरगया गाउँपालिका–४ भलायोडाँडा चौरखर्कका बासिन्दा बासुलाई गत १० भदौको विनाशकारी भोटेकोशी बाढीले चिलिमे भन्सार क्षेत्रबाट बगाएपछि परिवारले निरन्तर खोजी गरिरहेको छ ।
बासु काठमाण्डुमा अध्ययनरत थिए । उनका दाजु माधव लामिछाने विद्यार्थी जीवनदेखि नै माओवादी राजनीतिमा सक्रिय थिए ।
दाजुको राजनीतिक प्रभाव र प्रेरणाबाट बासु पनि माओवादी राजनीतिप्रति प्रभावित भए । २०५७ सालतिर पढाई बीचमै छाडेर उनी माओवादी आन्दोलनमा समाहित भए । सुरुमै उनी माओवादी सेनामा प्रवेश गरे ।
युद्धकालमा घाइते माओवादी लडाकुको उपचारमा उनी सक्रिय थिए । गोली लागेका घाइतेको उपचारदेखि अपरेसनसम्मका काममा उनी संलग्न हुने गर्थे ।
माओवादी सेनामा रहँदा उनले स्वास्थ्यकर्मीको तालिम लिए । सशस्त्र द्वन्द्वका क्रममा घाइतेको तत्काल प्राथमिक उपचारदेखि रक्तश्राव रोक्ने र संक्रमण नियन्त्रण गर्ने, गोली लागेका घाउ सिलाउने र सामान्य शल्यक्रियासम्म गर्थे उनी ।
त्यही भूमिकाका कारण बासु माओवादी पंक्तिमा ‘डाक्टर विश्वास’ का नामले परिचित थिए । बासुको स्वास्थ्यकर्मीका रूपमा काम गर्ने भूगोल पनि फराकिलो थियो ।
रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, म्याग्दी, रुकुम, रोल्पा र जाजरकोटसम्म पुने उनी
ती जिल्लाका माओवादी नेता, कार्यकर्ता र लडाकुमध्ये धेरैले उनलाई अझै ‘डा. विश्वास’ कै नामले चिन्छन् । माओवादी लडाकुको स्वास्थ्य विभागमा कार्यरत नुमकान्त आचार्य विनोद) बासुका गुरु थिए ।
बासुले धेरै वर्ष नुमकान्तको मातहत रहेर काम गरे । माओवादीको तत्कालीन गण्डक क्षेत्रमा माओवादी सेनाको कम्पनी बनेपछि बासु स्वास्थ्यकर्मी भए ।
नुमकान्तका अनुसार बासुले स्वास्थ्यकर्मीको औपचारिक शिक्षा अस्पतालको कक्षभन्दा पहिला युद्धकै मैदानमा लिएका थिए । उनलाई युद्धमा लडाकु दस्तासँग हिंड्दा–हिंड्दै तालिम दिएका थिए नुमकान्तले ।
‘सुरुमा उहाँसहित केही साथीहरुलाई जनताको पिंढीमै राखेर प्राथमिक स्वास्थ्यकर्मीको तालिम दिएँ । प्राथमिक तहको उपचार, कुन स्वास्थ्य समस्यामा कस्तो औषधि कुन मात्रामा चलाउने, घाउ सफा गर्ने, ब्याण्डेज बनाउने तरिकाजस्ता तालिम दिएँ । बाटोमा हिंड्दा हिंड्दै १५ दिन तालिम दिएको थिएँ’, आचार्य भन्छन्, ‘विश्वासको दिमाग धेरै ‘सार्प’ थियो । जे कुरा पनि छिटो सिक्न सक्ने क्षमता थियो । पछि हामीले उहाँलाई रोल्पामा केन्द्रीय स्तरको नमुना स्वास्थ्यकर्मी तालिममा पठायौं । जसलाई हामी स्पेशल तालिम भन्थ्यौं ।’

बासुले त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी (सीभिल) अस्पताल, चितवनको पुरानो मेडिकल कलेजलगायतमा विशेष तालिम लिएका थिए ।
पिंढीबाट काम सिकेका स्वाथ्यकर्मी बासु जनरल एक्जामिनेसन (बिरामीको समग्र शारीरिक अवस्था जाँच गर्ने), एनेस्थेसिया (शल्यक्रियाअघि बिरामी बेहोस बनाउने) गर्ने, वार्ड व्यवस्थापन, छालाको ग्राफ्टिङ, (स्किन ग्राफ्टिङ) एम्प्युटेसन (गम्भीर चोटपटक वा संक्रमणका कारण काम नलाग्ने भएको हात, खुट्टा, औँला वा शरीरको भाग काटेर फाल्ने) माइनर अपरेशन, ठूला घाउहरुको सिजरिङ (सिलाउने) जस्ता काममा पोख्त थिए ।
बासुले माओवादी सेनाको प्लाटुन हुँदै कम्पनी, बटालियन र ब्रिगेड स्वास्थ्य विभागको प्रमुखका रुपमा भूमिका खेले । शान्ति प्रक्रियापछि चितवनको शक्तिखोरस्थित अस्थायी शिविरमा बसे । माओवादी सेनाको बटालियन सहायक कमाण्डरसम्म भएका थिए । उनले सेना समायोजनको प्रक्रिया रोजेनन्, नियमित जीवनमा फर्किए ।
उनका सहकर्मीका अनुसार उनी आफ्नो जिम्मेवारीप्रति निकै प्रतिबद्ध थिए । विश्वास धेरै सफल र योग्य स्वास्थ्यकर्मी भएको नुमकान्त सम्झन्छन् । ‘ड्युटीमा धेरै जिम्मेवार थिए, कर्तव्यनिष्ठ र भरोसायोग्य थिए’, विनोद सम्झिन्छन् ।
नुमकान्तले विश्वासलाई धेरैवटा ठूला युद्धका मोर्चामा आफूसँगैै लिएर गएका थिए । म्याग्दी सदरमुकाम बेनी, रुकुमको खारा, धादिङको कृष्णभीर, लमजुङको बाहुनडाँडा, पाल्पा र अर्घाखाँचीका धेरै लडाईंमा नुमकान्त र बासुको को टिमले घाइतेको उपचार गरेको थियो । ‘खाराको युद्धमा विश्वासले मलाई धेरै नै सहयोग गरेको स्मरण हुन्छ । धेरै योग्य चिकित्सक थिए, जहाँ पनि हामी उनलाई छानेर लान्थ्यौं । अप्रेशनमा हात एकदमै क्लिन थियो’, नुमकान्त भन्छन् ।
युद्धको बीचमा पनि बासुको स्वास्थ्यकर्मीको भूमिका पक्षधरता भन्दा माथि रहेको नुमकान्तको स्मरण छ ।
उनका अनुसार माओवादी सेनाका स्वास्थ्यकर्मीले आफ्ना लडाकुको मात्र नभई मानवीय मानवीय भावका साथ विपक्षी सरकारी सुरक्षा फौजतर्फका घाइतेको पनि उपचार गरिदिन्थे ।
‘हामी आफ्नो तर्फका घाइतेको मात्र उपचार गर्दैनथ्यौं । युद्धमा घाइते भएका सेना र प्रहरीका मानिसहरुको पनि उपचार गरिदिन्थ्यौं । बासु र हामी भएर विरोधीपक्षका घाइतेको पनि ज्यान बचाएका छौं’, नुमकान्त भन्छन् ।
युद्धमा घाइते अवस्थामा नियन्त्रणमा लिइएका निहत्था युद्धबन्दीलाई मार्न नहुने विषयमा पनि बासु स्पष्ट धारणा राख्थे ।
नुमकान्तका अनुसार अस्पतालमा तालिम दिने विशेषज्ञ चिकित्सकहरू पनि बासुको क्षमताबाट प्रभावित थिए । गोली लागेका घाइतेको शल्यक्रिया र एनेस्थेसियामा उनको दक्षता उच्च थियो ।
‘वरिष्ठ डाक्टरहरु नै उनको क्षमताको प्रशंसा गर्थे’, नुमकान्त भन्छन्, ‘कतिले त उनीबाट सिकेका पनि छन् ।’
नुमकान्तका अनुसार उनलाई अस्पतालमा तालिम दिने विशेषज्ञ डाक्टरहरु नै बासुबाट प्रभावित थिए । गोली लागेका घाइतेको अप्रेशन र एनेस्थेसियामा त विश्वास कुनै डाक्टरभन्दा कम थिएनन् । वरिष्ठ डाक्टरहरु नै उनको क्षमताको प्रशंसा गर्थे । कतिले त उनीबाट सिकेका पनि छन्’, नुमकान्त भन्छन् ।
आफ्नो काममा निरन्तर खटिने, स्पष्ट बोल्ने र स्वाभिमानी स्वभावका स्वास्थ्यकर्मीको छवि थियो बासुको । ‘बोल्ड स्वभाव’ का कारण उच्च तहका नेता र कमाण्डर बासुसँग हच्किन्थे ।
बासुका गुरु नुमकान्त हाल पर्वतको पैंयुस्थित उपस्वास्थ्यचौकीमा सि–अहेबका रुपमा कार्यरत छन् । पर्वत र रसुवाको दूरी टाढै छ । तर, नुमकान्त र बासुको सम्बन्ध आज पर्यन्त उस्तै थियो, जुन भीषण युद्धका दिनहरुमा थियो ।
बासु बाढीमा हराएको खबर सुनेदेखि नुमकान्त बेचैन छन् । नुमकान्तले भोटेकोशी बाढीको तेश्रो दिन १२ भदौमा बासुसँगको तस्बिर राखेर फेसबुकमा लेखेका छन्, ‘विश्वास तिमी कहाँ छौं ? अहिलेसम्म तिम्रो अत्तोपत्तो पाइन मैले । बाढी नामको दैवले तिमीलाई के गर्यो ? तिमी अझै भेटिने आशामा छु ।’

नुमकान्त भोटेकोशीसम्बन्धी समाचार सुन्दा झसंग हुन्छन् र बासु भेटिएको खबर आइहाल्छ कि भनेर रोकिन्छन् ।
‘तै पनि भेटिएको खबर पो आइहाल्छ कि भन्ने लागिरहन्छ’, उनले काठमाण्डु पाटीसँग भने, ‘अब त आशा कम हुँदै गएको छ ।’
माओवादी सेनाको स्वाथ्य विभागको हस्ती भएर काम गरेका बासुले पछि भने स्वास्थ्यकर्मीका काम गरेनन् ।
केही वर्षदेखि रसुवाको चिलिमे भन्सारमा भन्सार एजेन्टका रूपमा काम गर्दै आएका थिए उनी ।
चिलिमेमा रहँदा पनि उनको व्यवहार स्थानीयसँग सहज थियो ।
स्पष्ट बोल्ने र आफ्नो कुरामा अडिग रहने स्वभावका कारण परिचितहरु उनलाई आँटिलो, आत्मविश्वासी र स्वाभिमानी भनेर सम्झन्छन् ।
१० भदौका दिन बासु बिहानै उठेका थिए । बस्ने डेरा नजिकै कफी सपमा कफी पिउँदै गरेका बेला रसुवागढी तिरबाट त्रिशूलीमा बाढी आएको देखियो ।
सधैं बाढी आइराख्ने भएकाले बासुले यसपटकको बाढीलाई पनि यसअघिकै जस्तो ठाने । प्रत्यक्षदर्शीहरुका अनुसार उनी कत्रो बाढी आएको रहेछ भनेर कफी पसलबाट केही पाइला मात्र खोलातिर बढेका थिए । १ सय ८० किमी प्रतिघण्टाको गतिमा आएको बाढीले निमेषभरमै उनलाई निल्यो ।

‘कफी पिउँदै रहेछ, बाढी आएको देखेपछि कत्रो आएछ त बाढी भनेर खोलातिर पाइला चाल्दा बित्तिकै बाढीले सोहोरेर लग्यो भन्ने सुनेको छु’, उनका दाजु माधव भारी मनका साथ भन्छन् ‘२० मिटर मात्र माथि उक्लिन पाएको भए बाँच्ने रहेछ, बाढीले उसलाई झुक्याएर लग्यो ।’
बासुसँगै रहेका केही मानिस भागेर बाँचेको माधव बताउँछन् । बासुसँगै चिलिमे बस्दै आएका माधवका कान्छा छोरा सौरभ भने भागेर बाँच्न सफल भए ।
‘घरभित्र रहेको भतिजो चाहिं दुई तलामाथिबाट हाम्फालेर बाँच्यो, बाहिरै रहेको काकालाई लग्यो’, उनी भन्छन् । माधवका जेठा छोरा समीर भने बेपत्ता छन् ।
इन्जिनियर समीर रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेका थिए । भोटेकोशी बाढीले छोरा र भाई गुमाएका माधव आफूलाई सम्हालिरहेका छन् । परिवारलाई सम्हालिरहेका छन् ।
माधव एक्लै हुँदा भक्कानिन्छन्, तर परिवार र अरु मान्छेका अगाडि पीडा दबाउँछन् । ०७२ को भूकम्पमा एउटा भाई गुमाएका माधवलाई भोटेकोशी बाढीले पारेको बज्रपातले पीडामाथि पीडा थपेको छ ।
‘सहनुकै के नै विकल्प छ र ?’, उनी भन्छन्, ‘सबैलाई सम्हाल्नुपर्ने म नै भावुक भएर हिंडे भने परिवारका अरुको हालत के होला ?’


प्रतिक्रिया