काठमाण्डु– प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाई र दोलखा, कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
नेपाल सरकार र इजरायल सरकारबीच भएको जी टु जी सम्झौताअनुसार केयर गिभरका लागि नेपाली कामदार इजरायल पठाउने प्रक्रियामा सहभागी परीक्षार्थीमध्ये लक्की ड्रमा छनोट हुन नसकेका व्यक्तिहरूलाई लक्षित गरी ठगी गरिएको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) जनाएको छ।
प्रहरीका अनुसार सन् २०२४ मा नेपाल सरकारले लिएको परीक्षामा सहभागी भई इजरायल जान लक्की ड्रमा नपरेका १५६ जनालाई भरत चौलागाई र बालिका सिवाकोटी लगायतका व्यक्तिले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरेका थिए।
उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल पठाइदिने विश्वास दिलाई पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ।
ठगीमा परेको भन्दै पीडितहरूले कानुनी कारबाहीका लागि जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
उनीहरूलाई २०८३ साल असोज १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया