काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री एवं सांसद् विपिन आचार्यले कर्मचारी सुरुवा हेर्ने गरी छुट्टै ‘स्वायत्त सरूवा बोर्ड’ गठन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले तत्काल सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरे ।
नातागोता र नजिकका मानिसहरूबाट सुरुवाका लागि हुने स्वार्थ प्रेरित दबाब रोक्न सरकारले त्यस्तो बोर्ड गठन गर्नुपर्ने माग उनको थियो ।
राजनीतिमा आएपछि आफूले पनि सरुवा–ढुवाका लागि दबाब झेल्नुपरेको उनले बताए । सुशासनको कुरा गर्नेहरु नै नातावाद र कृपावाद खोज्दै घरमा आउने गरेको आचार्यले उल्लेख गरे ।
त्यसरी आउनेहरुलाई आफूले विधि र पद्धतिबाहिर गएर काम गर्न नसक्ने जवाफ दिने गरेको भन्दै आगामी दसैंमा आफन्तबाट आर्शिवादभन्दा श्राप पाउने खतरा बढेर गएको बताए ।
उनले रास्वपाको चुनावी बाचापत्र पनि सरकारलाई सम्झाए ।
‘हाम्रो बाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ ।
सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ,’ उनले भने, ‘यदि यो व्यवस्था नभए आउँदो दसैंमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनु त कता हो कता, काम भएन भनेर सराप पो पाइन्छ कि भन्ने डर छ । यो सरापबाट मलाई बचाइदिनुपर्यो सरकार ।’




प्रतिक्रिया