काठमाण्डु – नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशिप पूरा गरेका नवौँ ब्याचका ८५ जना नवदीक्षित चिकित्सकलाई प्रधानसेनापति अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन् ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरेपछि इन्टर्नशिप पूरा गरेका चिकित्सकलाई बिहीबार प्रधानसेनापति सिग्देलले प्रमाणपत्र वितरण गरेका हुन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानसेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र तथा समग्र मानव सेवामा समर्पित भएर कार्य गर्न चिकित्सकहरूलाई सुझाव दिए । उनले नवदीक्षित चिकित्सकलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.स.र. डा. भैरव कुमार हमाल (अ.प्रा.) ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा उनीहरूका परिवारजनको उपस्थिति थियो ।
नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने उद्देश्यले २०६८ सालमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान स्थापना गरेको हो । संस्थानबाट हालसम्म ९४४ जना चिकित्सक दीक्षित भइसकेका छन् ।




प्रतिक्रिया