काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान गरेको सम्बोधनले विश्वको ध्यान तानेको छ ।
प्रधानमन्त्री शाहले महासभामा गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ समाचार बनाएका छन्।
नेपालमा ष्त भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनको बढ्दो जोखिमसँग जोड्दै प्रधामनन्त्री शाहले दिएको सन्देशलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले गत महिना नेपालमा आएको बाढी स्थानीय विपत्ति मात्र नभई विश्वका लागि चेतावनी भएको उल्लेख गरे । साथै उनले हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन भन्दै नेपाललाई जलवायु न्याय आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीको रूपमा उनको यो पहिलो अन्तर्राष्ट्रिय सम्बोधन पनि थियो । उनको सम्बोधनलाई एएफपी, फ्रान्स २४, अरब न्युज, कोरिया टाइम्स, द हिन्दुस्तान टाइम्स, एएनआइ, एनडीटिभी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।
अरब न्युज र फ्रान्स २४ ले शाहको सम्बोधनलाई नेपालमा आएको बाढी जलवायु परिवर्तनको बढ्दो खतराबारे ‘विश्वका लागि चेतावनी’ भएको उल्लेख गरेका छन्। कोरिया टाइम्सले पनि यही विषयलाई मुख्य शीर्षक बनाएर समाचार प्रकाशित गरेको छ।
यीमध्य धेरै सञ्चारमाध्यमले एएफपीको समाचारलाई आधार बनाएर समाचार प्रकाशित गरेका हुन्।
प्रधानमन्त्रीले जलवायु संकटको विषयमा नेपाल, भारत र चीनलाई समेटेर ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न गरेको प्रस्तावलाई एएनआइ, अनादोलु एजेन्सी र आउटलुक इन्डियाले प्रमुखताका साथ समाचार बनाएका छन्।
प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा तापक्रम बढ्दै जाँदा हिमालयको नाजुक पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रस्ट र हिमनदी पग्लिरहेको तथा बाढी, पहिरो र अन्य जोखिम बढिरहेको बताएका थिए।




प्रतिक्रिया