काठमाण्डु – अविरल वर्षाका कारण राजधानी जोड्ने सबै राजमार्ग बन्द भएको छ । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण राजमार्गहरू बन्द हुँदा काठमाण्डु प्रवेश गर्ने राजमार्गहरू बन्द भएको हो ।
काठमाण्डु आवतजावत गर्ने मुख्य राजमार्गहरू पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोक मार्गलगायत विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । तर हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको छ ।
महेन्द्र राजमार्ग तथा पृथ्वी राजमार्गमा चितवन प्रशासनले अनिश्चितकाका लागि यात्रा गर्न रोक लगाएको छ भने कान्ति लोकपथमा ललितपुर प्रशासनले शनिबारसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन र धादिङले संयुक्त सूचना जारी गर्दै अर्को सूचना नभएजेलसम्मका लागि पृथ्वी राजमार्गमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएका छन्
बाटो बन्द भएपछि राजधानी काठमाण्डुमा नाकाबन्दी जस्तै भएको छ । सार्वजनिक सवारीसाधन रोकिएका हुन् भने काठमाण्डु आउन लागेको सामान लोड गरिएको ट्रकहरू होल्ड गरिएका छन् ।
नागढुंगा-नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई नागढुंगामै रोकेर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन्।
काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाण्डु जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाण्डुमै रोकिएको जानकारी दिए।
देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाण्डु जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा पनि समस्या परेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ ।




प्रतिक्रिया