काठमाण्डुु– कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएर ड्याम खोल्ने तयारी गरिएको भन्दै सामाजिक सञ्जालमा फैलाइको हल्ला अफवाह रहेको खुलेको छ ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उक्त हल्ला भ्रमपूर्ण रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् ।
पानीको सहत बढे पनि कुलेखानी ड्याम खोल्नुपर्ने अवस्थामा नपुगेको उनको भनाइ छ । लामाले जलाशय भरिन अझै करिब ८ मिटर उचाइ बाँकी रहेको बताएका छन् ।
‘कुलेखानी ड्याम भरिएको भन्दै आएका भ्रामक समाचारबाट आतंकित नहुनुहोला’, उनले लेखेका छन्, ‘अझै ८ मिटर उचाइ बाँकी छ ड्याम भर्न । कुनै जोखिम छैन,’ लामाले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा दुई वर्षअघिका फोटो तथा भिडियो अहिलेको अवस्थासँग जोडेर शेयर भइरहेको भन्दै त्यस्ता सामग्रीबाट भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।
‘भ्रमपूर्ण समाचारबाट आतंकित नहुनुहोला । यदि कुलेखानी ड्याममा पानीको सतह बढ़ेर ड्याम खोल्नुनै पर्ने अवस्था आएमा तपशीलको प्राधिकरणले जारी गरेको सुचना अनुसार कुलेखानी ड्यामको तल्लो तटिय क्षेत्रका आम नागरिक सचेत चाही रहनु होला’, उनले भनेका छन्, ‘ तर अहिले त्यो खालको जोखिम नभएको जानकारीको लागि अनुरोध छ ।’
उनले २ वर्ष अगाडीको फोटो भिडियो सेयर गरेर भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसो नगर्न सम्बन्धितलाई सचेत समेत गराएका छन् ।
यसअघि १२ असोज ०८१ मा पूर्वसूचनाबिना कुलेखानी ड्याम खोलिँदा गएको पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।




प्रतिक्रिया