काठमाण्डु – २० औं एसियन गेम्समा पुरुष क्रिकेटतर्फ समूह ‘ए’को खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो । नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।




प्रतिक्रिया