काभ्रे– काभ्रेको रोशीखोलामा बाढीको जलसतहले खतराको तह पार गरेको छ ।
पनौतीस्थित जलमापन केन्द्रमा गरिएको मापनअनुसार रोशीमा पानीको सतह ४.५१ मिटर पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाले जोखिमको संकेत दिँदै तटीय क्षेत्रमा साइरन बजाइएको जनाएको छ ।
माथिल्लो जलाधार क्षेत्रमा वर्षा भइरहेकाले जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको महाशाखाको भनाइ छ ।
विगतमा डुबानमा पर्ने गरेको तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह भनिएको छ ।
खोला आसपासका बासिन्दालाई जलसतहको अवस्था निरन्तर निगरानी गर्न र जोखिम देखिए सुरक्षित स्थानतर्फ जान महाशाखाको आग्रह छ ।
यसअघि पनि रोशीखोलामा जलसतह बढेपछि पनौती जलमापन केन्द्रबाट तटीय क्षेत्रमा चेतावनी जारी गरिएको थियो ।
रोशीको जलाधारमा वर्षा बढ्दा छोटो समयमै खोलाको बहाव तीव्र रूपमा बढ्न सक्ने भएकाले महाशाखाले विशेष निगरानी गरिरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ देखि ४८ घण्टामा देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ ।
आगामी केही दिन ठूला नदी तथा जलाधार क्षेत्रमा समेत जलसतह बढ्ने अनुमान गरिएको छ ।
नुवाकोटको त्रिशूली र भक्तपुरको हनुमन्ते खोलासहित विभिन्न नदी तथा खोलामा पनि जलसतह बढिरहेको महाशाखाले जनाएको छ ।
कोशी, नारायणी, कन्काई, कमला र तिनका केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास वा माथि पुगेको छ ।




प्रतिक्रिया