मनोहरामा नदी सहत बढेपछि च्यासल पुगे गृहमन्त्री गुरुङ

मनोहरामा नदी सहत बढेपछि च्यासल पुगे गृहमन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मनोहरा खोलामा बाढीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङ च्यासल पुगेका छन् ।

उनले शुक्रबार दिउँसो मनोहरा किनारमा पुगेर बाढीको अवस्था र जोखिमबारे स्थलगत निरीक्षण गरेका हुन् ।

गृहमन्त्री गुरुङ एमाले केन्द्रीय कार्यालय नजिकै रहेको मनोहरा खोला क्षेत्रमा पुगेका थिए ।

निरीक्षणका क्रममा उनले बाढीको अवस्थाबारे जानकारी लिनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

लगातारको वर्षाका कारण मनोहरा खोलामा पानीको बहाव बढिरहेको छ ।

च्यासल क्षेत्रमा खोलाको पानी किनारतर्फ फैलिन थालेपछि आसपासका संरचना तथा बस्तीमा डुबानको जोखिमसमेत बढेको छ ।

एमाले केन्द्रीय कार्यालय रहेको क्षेत्र पनि मनोहरा किनारमै रहेकाले त्यहाँ विशेष निगरानी भइरहेको छ ।

मनोहरासँगै काठमाण्डु उपत्यकाका अन्य नदी तथा खोलामा पनि जलसतह बढेको छ ।

बागमती, विष्णुमती र हनुमन्तेलगायत खोलामा पानीको बहाव बढेपछि नदी किनार र तल्लो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, देशका विभिन्न नदी तथा खोलामा पनि वर्षाका कारण जलसतह बढिरहेको छ ।

कोशी, नारायणी, कन्काई, कमला तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तह आसपास वा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ देखि ४८ घण्टामा साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ ।

केही क्षेत्रमा भारी वर्षाको पूर्वानुमान रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसअघि नै मौसम विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ ।

गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले बाढी, डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा पूर्वतयारी बढाइएको छ ।