काठमाण्डु– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।
शुक्रबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडक तथा राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले मुख्य राजमार्ग तथा सडकमा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाएका छन्।
अवरुद्ध तथा प्रभावित प्रमुख सडक
कान्ति लोकपथ: ललितपुरको बागमती गाउँपालिका–भटेडाँडा र गोदावरी नगरपालिका–बर्खेधारा क्षेत्रमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध।
बिपी राजमार्ग: काभ्रेको रोशी गाउँपालिका–किम्तिबेँसीमा पहिरो गएपछि सडक पूर्ण रूपमा बन्द। काभ्रे–सिन्धुली खण्डमा असोज ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक।
नारायणगढ–मुग्लिन सडक: अर्को सूचना जारी नभएसम्म रात्रिकालीन आवागमनमा पूर्ण रोक।
पृथ्वी राजमार्ग: धादिङको बेनीघाट र कृष्णभिर क्षेत्रमा पहिरोका कारण अवरुद्ध। इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र सञ्चालनमा।
रसुवाका मुख्य राजमार्ग: पहिरो तथा बाढीका कारण पूर्ण रूपमा बन्द।
कान्ति राजमार्ग र त्रिभुवन राजपथ: मकवानपुर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध तथा रात्रिकालीन यात्रामा प्रतिबन्ध।
दोलखा र सिन्धुपाल्चोकका सडक: रातको समयमा सम्पूर्ण सडक खण्डमा यात्रा गर्न रोक।
तमोर कोरिडोर: पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध।
सिद्धिचरण लोकमार्ग: ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा बाढी आएपछि सवारी सञ्चालन प्रभावित।
सोलुखुम्बुका सडक: भारी वर्षाको पूर्वानुमानपछि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक।
मध्यपहाडी लोकमार्ग, भोजपुर: रात्रिकालीन समयमा सवारी सञ्चालन निषेध।
मेची राजमार्ग, इलाम: रातको समयमा सवारी आवागमनमा पूर्ण रोक।
चामे–बेँसीसहर सडक: मनाङको नासो गाउँपालिका–खोत्रोमा पहिरो गएपछि पूर्ण रूपमा बन्द।
बेँसीसहर–खाङ्सार सडक: असोज १२ गतेसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक।
कास्कीका ग्रामीण सडक: असोज ११ गतेसम्म रात्रिकालीन यात्रा गर्न नपाइने व्यवस्था।
सम्बन्धित निकायहरूले बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।




प्रतिक्रिया