काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा अकस्मात गएको विनाशकारी बाढीको शनिबार एक महिना भएको छ। गत भदौ १० गते विहान बाढी जाँदा रसुवा, नुवाकोट, धादिङसहित जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन्। यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। बाढी प्रभावितको खोज, उद्धार तथा राहतसहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी अहिले पनि परिचालित छन् ।
बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ भने पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।
विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन्।
यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ। करिब सात हजार ५७० घरहरू प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसङ्ख्या प्रभावित भएका छन्।
बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ। त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।




प्रतिक्रिया