काठमाण्डु – पछिल्लो ३ महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झण्डै २७ करोड ८५ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्रले किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपार्टस तथा कस्मेटिक लगायतका सामान बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरीले सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । सोही अवधिमा ३० लाखभन्दा बढी रुपैयाँ बराबरको १ हजार १०० क्यूफिट काठ बरामद गर्नुका साथै १०२ ग्राम चाँदी समेत बरामद गरेको छ । उक्त कार्यमा संलग्न ८४ जना नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार कार्यलाई समेत सशस्त्र प्रहरी बल नेपालले कडाइ गर्दै आइरहेको छ । ३ महिना अवधिमा ब्राउन सुगर १९३ ग्राम, चरेश ९ किलो ५०० ग्राम र गाँजा १ हजार ६०६ किलोभन्दा बढी बरामद गरेको छ ।
सो अवधिमा ३ वटा कटुवा पेस्तोल, २ थान सिक्सर २ थान भरुवा बन्दुक तथा सोको राउण्ड र बारुद समेत बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा हुने मानव बेचबिखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
वर्तमान सरकारको नीति निर्देशन अनुरूप मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासन कायम राख्नको लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षादेखि अवैध चोरीतस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै गएको जनाइएको छ ।
सशस्त्र प्रहरीले मधेश प्रदेशस्थित विभिन्न नदीजन्य ठाउँहरूमा उत्खनन् गर्ने कार्यमा संलग्न २२ वटा ट्रयाक्टर, २६ वटा टिप्पर र २ वटा जेसीबी समेत नियन्त्रणमा लिएको छ । मनसुनको समय सुरु भएदेखि सशस्त्र प्रहरीले विपद्मा परेका १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको छ ।
विभिन्न घटनामा परेका २११ पुरुष र ६३ जना महिला गरी २७४ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल पुर्याएको जनाइएको छ ।




प्रतिक्रिया