काठमाण्डु– लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका ९ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई यस्तो निर्देशन दिएको हो।
गैरहाजिर रहेका प्रहरी कर्मचारीमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक प्रहरी नायब निरीक्षक शुक्रबहादुर महतो, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक खर्गबहादुर गुरुङ, प्रहरी चौकी खुम्जुङ, सोलुखुम्बुका प्राविधिक प्रहरी सहायक हवल्दार रोशन राई र प्रहरी चौकी विरुवाअर्चले, स्याङ्जाका प्रहरी सहायक हवल्दार सुरेश नेपाली रहेका छन्।
त्यस्तै, नेपाल प्रहरी भौतिक पूर्वाधार महाशाखा प्राविधिक गुल्म नक्सालका प्राविधिक प्रहरी जवान मोहन भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी जवान कल्पना रानामगर, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी जवान राजेन्द्र विश्वकर्मा, बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी जवान सुमन चौधरी र प्रहरी चौकी फदवामेचकुरी, कपिलवस्तुका प्रहरी जवान टोपलाल चौधरी रहेका छन्।
कार्यालयका अनुसार खोजतलास गर्दा समेत सम्पर्कमा नआएका र प्रहरी नियमावली, २०७१ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि हाजिर नभएपछि सामूहिक रूपमा सूचना प्रकाशित गरिएको हो।
सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको चित्तबुझ्दो र सन्तोषजनक कारणसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन भनिएको छ।
तोकिएको समयभित्र हाजिर हुन नआए प्रहरी नियमावली, २०७१ को प्रावधानअनुसार सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ। महाशाखाले यसलाई गैरहाजिर प्रहरी कर्मचारीका लागि अन्तिम सफाइको मौका भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए नियमावलीअनुसार थप कारबाही अघि बढाउने जनाएको छ।




प्रतिक्रिया