कांग्रेसको मञ्चबाट लिङ्देनले भने : अहिलेको संविधान र गणतान्त्रिक व्यवस्थाबारे सोच्ने बेला आयो

कांग्रेसको मञ्चबाट लिङ्देनले भने : अहिलेको संविधान र गणतान्त्रिक व्यवस्थाबारे सोच्ने बेला आयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका कमजोरी सुधार गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले लोकतन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

उनले वर्तमान राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग समेत जोडिएको भन्दै त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताए।

‘अहिलेको समस्या संविधान र तपाईंहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ। यसमा पनि सोच्ने बेला आएको छ,’ उनले भने।

लिङ्देनले राजनीतिक व्यवस्थाको विकल्प खोज्नेभन्दा त्यसका कमजोरी पहिचान गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताए। अहिले देखिएका राजनीतिक समस्या समाधानका लागि राजनीतिक दलहरूले आफ्ना विगतका निर्णय र कार्यशैलीको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ,’ लिङ्देनले भने, ‘तर लोकतन्त्रलाई अझ प्रभावकारी बनाउने र जनताका अपेक्षा पूरा गर्ने विषयमा गम्भीर बहस र समीक्षा आवश्यक छ।’

उनले देश र जनताको हितमा अघि बढ्ने नयाँ बाटो तय गर्न दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको बताए। लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

लिङ्देनको अभिव्यक्तिमा एकातर्फ गणतान्त्रिक व्यवस्थामाथि पुनर्विचारको आवश्यकता औँल्याइएको छ भने अर्कोतर्फ लोकतन्त्रको विकल्प खोज्न नहुने धारणा अघि सारिएको छ।