देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनुभएन : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि १५औँ महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई महाधिवेशनमा ल्याउन पार्टीका नेताहरू कति पटक र कसरी जाने भन्ने प्रश्नसमेत उठाए।

‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ थापाले प्रश्न गरे।

थापाको यो भनाइ देउवा महाधिवेशनमा सहभागी नभएको विषयप्रति उनको सार्वजनिक टिप्पणीका रूपमा आएको हो। उनले कांग्रेसबाट बाहिरिएका नेताहरूको विषयमा पनि पार्टीले अब स्पष्ट धारणा बनाउनुपर्ने बताए।

‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो कि उहाँहरूले कांग्रेस छाड्नुभएको हो, यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,’ थापाले भने।

नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका राजनीतिक र सांगठनिक कमजोरीको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। पार्टीभित्र रहेका सबैलाई समेट्ने तथा बाहिरिएका नेताहरूसँगको सम्बन्धबारे पनि स्पष्ट नीति लिनुपर्ने उनले बताए।