अमेरिकामा दादुराको प्रकोप भयावह, न्युयोर्कमा आपत्काल घोषणा

अमेरिकामा दादुराको प्रकोप भयावह, न्युयोर्कमा आपत्काल घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको संक्रमण तीव्र रूपमा बढेपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ।

गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ्दै गएपछि आपत्काल घोषणा गरेका हुन् । यस वर्ष न्युयोर्कमा हालसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्।

कम खोप लगाइएका ग्रामीण क्षेत्र संक्रमणको मुख्य केन्द्र बनेका छन्। न्युयोर्क सहरमा समेत सात जनामा दादुरा पुष्टि भएको छ।

छिमेकी राज्य पेन्सिलभेनियामा संक्रमण अझ व्यापक देखिएको छ। त्यहाँ यस वर्ष ३९ जिल्लामा एक हजार चार जनामा दादुरा पुष्टि भएको छ भने दादुरासँग सम्बन्धित पाँच जनाको मृत्यु भएको जनाइएको छ।

संक्रमण नियन्त्रणका लागि न्युयोर्क सरकारले दादुराविरुद्ध खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ। साथै, स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे नागरिकलाई जानकारी गराउन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ।

राज्यमा घोषणा गरिएको आपत्काल नोभेम्बर ४ सम्म लागू हुनेछ।

अमेरिकाभर भने अक्टोबर १ सम्म तीन हजार ८८७ जनामा दादुरा पुष्टि भइसकेको छ। स्वास्थ्य अधिकारीहरूले संक्रमणबाट जोगिन दादुरा, गलगण्ड र रुबेलाविरुद्धको दुई मात्रा खोप लगाउन आग्रह गरेका छन्।

पछिल्ला वर्षमा अमेरिकाका विद्यालय जाने बालबालिकामा खोप लगाउने दरसमेत घटेको छ। सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ, जबकि स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य राखेका छन्।