काठमाण्डु– नेपाली चर्चित रक ब्यान्ड १९७४ एडिले आफ्नो अस्ट्रेलिया टुरको अन्तिम कन्सर्ट आज एडिलेडमा गर्दैछ।
‘रक यात्रा अस्ट्रेलिया टुर २०२६’ अन्तर्गत ब्यान्डले आज एडिलेडस्थित हिन्डलीमा प्रस्तुति दिँदैछ।
पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया यात्रा क्यानबेरा, ब्रिसबेन, न्युक्यासल, सिड्नी र मेलबर्न हुँदै आज एडिलेडमा पुगेर टुंगिँदैछ।
ब्यान्डका संस्थापक निराकर याक्थुम्बाका अनुसार अस्ट्रेलिया टुर नेपाली संगीत र दर्शकसँगको सम्बन्धलाई थप नजिक बनाउने अवसर बनेको छ।
लामो समयपछि विभिन्न सहरमा नेपाली दर्शकमाझ प्रत्यक्ष प्रस्तुति दिन पाउँदा टुर विशेष बनेको उनको भनाइ छ।
यस्तै, ब्यान्डका गिटारिस्ट मनोज केसीले अस्ट्रेलियाका विभिन्न सहरमा दर्शकबाट पाएको प्रतिक्रियाले आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन्।
उनका अनुसार पुराना चर्चित गीतसँगै नयाँ पुस्तालाई जोड्ने गरी प्रस्तुति दिनु यसपटकको टुरको विशेषता हो।
तीन दशकभन्दा लामो सांगीतिक यात्रामा १९७४ एडिले नेपाली रक संगीतलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसम्म पुर्याउँदै आएको छ।
अस्ट्रेलियाका विभिन्न सहरमा भएको कन्सर्टमा नेपाली दर्शकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।
आजको एडिलेड कन्सर्टसँगै १९७४ एडिको अस्ट्रेलिया टुर औपचारिक रूपमा सम्पन्न हुनेछ।
हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।



प्रतिक्रिया