वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएकोमा फेरि असन्तुष्टि जनाएका छन्। शुक्रबार उनले पुरस्कार आफूलाई नदिएर नर्वेले कहिल्यै नमेटिने दाग लगाएको बताए।
निर्णयलाई लज्जास्पद र अपमानजनक भन्दै ट्रम्पले आफूले रोकेको प्रत्येक युद्धका लागि एक–एक गरी आठ पटक पुरस्कार पाउनुपर्ने दाबी गरे।
यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख नभी पिल्लैलाई दिइएको छ। ट्रम्पले उनलाई कसैले नचिन्ने बताए। उनले भने, ‘आज नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघमा काम गर्ने एक उदारवादीलाई दिइयो, जसलाई कसैले चिन्दैन।’
पिल्लैले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा सन् १९९९ देखि २००३ सम्म अध्यक्षका रूपमा काम गरेकी थिइन्।
‘भारत-पाकिस्तान युद्ध रोकेँ, पाँच करोडको ज्यान बचाएँ’
ट्रम्पले भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकाएको दाबी फेरि दोहोर्याए। आणविक हतियार भएका दुवै देशलाई युद्धबाट रोकेर पाँच करोड मानिसको ज्यान बचाएको उनको भनाइ छ।
इरान तथा रुस–युक्रेन युद्ध अन्त्य गराउने दिशामा पनि आफू काम गरिरहेको ट्रम्पले बताए। उनका अनुसार, नोबेल शान्ति पुरस्कार अमेरिकाले पाउनुपर्ने थियो, तर पाएन। यसका लागि अमेरिकाले नर्वेलाई कहिल्यै बिर्सनेछैन।
इरानलाई आणविक हतियार हासिल गर्नबाट आफूले रोकेको दाबी पनि ट्रम्पले गरे। त्यसो नभएको भए मध्यपूर्वसँगै युरोप र अमेरिकासम्म विनाश फैलिन सक्ने उनको भनाइ थियो।
“इतिहासमा अरू कुनै व्यक्तिले भन्दा मैले धेरै मानिसको ज्यान बचाएको छु,” उनले भने।
सन् २०१८ देखि नोबेल माग्दै ट्रम्प
सन् २०१८ को अक्टोबरमा एक कार्यक्रममा ट्रम्पले आफूले उत्तर कोरिया र सिरियामा शान्ति कायम गर्ने प्रयास गरे पनि नोबेल शान्ति पुरस्कार नपाउन सक्ने बताएका थिए।
सन् २०१९ को फेब्रुअरीमा उनले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गरेको दाबी गरे। तर आफूले पुरस्कार जित्ने सम्भावना नरहेको उनले बताएका थिए।
त्यही वर्ष पाकिस्तानी पत्रकारको प्रश्नमा ट्रम्पले निष्पक्ष रूपमा पुरस्कार दिइए आफूले धेरै विषयमा नोबेल पाउनुपर्ने बताए।
सन् २०२० को राष्ट्रपति निर्वाचन अभियानमा उनले पूर्वराष्ट्रपति बराक ओबामासँग आफ्नो तुलना गर्दै ओबामाले पुरस्कार पाउन सक्ने भए आफूले पनि पाउनुपर्ने बताएका थिए।
नभी पिल्लैको ठट्टा, ‘सायद पुरस्कार ट्रम्पसँग बाँडू
नर्वेली नोबेल समितिले सन् २०२६ को शान्ति पुरस्कार भारतीय मूलकी नवी पिल्लैलाई दिने घोषणा गरेको थियो।
पुरस्कार पाएपछि पिल्लैले ट्रम्पबारे ठट्टा गर्दै भनिन्, “तपाईंहरूले अझै केही बेर ताली बजाउनुभयो भने सायद यो पुरस्कार ट्रम्पसँग बाँडूँला।”
यसअघि भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले ट्रम्पलाई आफ्नो नोबेल पदक दिएकी थिइन्। लोकतान्त्रिक अधिकारका लागि गरेको कामबापत मचाडोले सन् २०२५ को पुरस्कार पाएकी थिइन्। पछि ह्वाइट हाउसमा ट्रम्पलाई भेट्दा उनले पदक दिएकी थिइन्।
तर त्यसबाट पुरस्कार ट्रम्पलाई हस्तान्तरण भएको थिएन। पुरस्कार मचाडोकै नाममा रह्यो। नोबेल समितिका अनुसार, पुरस्कार अरूलाई हस्तान्तरण, साझेदारी वा फिर्ता गर्न मिल्दैन।
चार अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति
हालसम्म चार अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार पाएका छन्: थिओडोर रुजवेल्ट, वुड्रो विल्सन, जिम्मी कार्टर र बराक ओबामा।
ओबामाले राष्ट्रपति बनेको पहिलो वर्ष सन् २००९ मा पुरस्कार पाएका थिए। ट्रम्पले ओबामाले पुरस्कार पाएको विषयमा विशेष असन्तुष्टि जनाउँदै आएका छन्। उनले ओबामालाई किन पुरस्कार दिइयो भन्ने कुरा ओबामालाई समेत थाहा नभएको टिप्पणी गरेका थिए।
नर्वेली नोबेल समितिले अन्य देशसँग संवाद बढाउने र विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रयासका लागि ओबामालाई पुरस्कार प्रदान गरेको थियो। पद सम्हालेको केही समयमै उनलाई पुरस्कार दिने निर्णय त्यसबेला पनि चर्चा र विवादको विषय बनेको थियो।
नभी पिल्लैबारे
दक्षिण अफ्रिकामा जन्मिएकी पिल्लैले रंगभेदविरुद्ध संघर्ष गरेका नेल्सन मन्डेलासहित धेरैलाई सहयोग गरेकी थिइन्।
युद्ध अपराध र नरसंहारका दोषीलाई सजाय दिलाउन तथा अन्तर्राष्ट्रिय कानुन बलियो बनाउन गरेको प्रयासका लागि उनलाई सम्मान दिइएको हो।
विश्वमा युद्ध र द्वन्द्व बढिरहेका बेला शान्ति कायम गर्न अन्तर्राष्ट्रिय कानुनको पालना र सुदृढीकरण अत्यन्त आवश्यक रहेको नोबेल समितिले जनाएको छ।



प्रतिक्रिया