काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार बेलुकी साढे ७ बजेदेखि खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गरिएको छ।
यसअघि शुक्रबार राति सभापति पदको मतगणना सम्पन्न भएको थियो। सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका थिए।
५० मत गणना हुँदा प्रदीप पौडेल अगाडि
प्रारम्भिक ५० मत गणना हुँदा खुला महामन्त्री पदमा प्रदीप पौडेलले ३३ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले २१, उदयशमशेर राणाले १२ र गुरुराज घिमिरेले ८ मत पाएका छन्।
त्यस्तै, डा. सुनिलकुमार शर्माले १३, नैनसिंह महरले ४, डा. सन्तोष उपाध्यायले ५ र शंकर तिवारीले २ मत प्राप्त गरेका छन्।
उपसभापतिमा चन्द्रकान्त भण्डारीलाई २६ मत
खुला उपसभापति पदमा ५० मत गणना हुँदा डा. चन्द्रकान्त भण्डारीले २६ मत प्राप्त गरेका छन्। गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेले समान १६ मत पाउँदा ई. मधु आचार्यले १३, धनराज गुरुङले ११, दीपक गिरीले ७ र प्रा. डा. चन्द्रमोहन यादवले ४ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापति पदमा विनोदकुमार चौधरीले १७ मत प्राप्त गरेका छन्। सीता गुरुङले ११, जीवन परियारले १०, फरमुल्लाह मन्सुरले ६ र रञ्जित कर्णले १ मत पाएका छन्।
महिला महामन्त्रीमा डिला र डिनाबीच प्रतिस्पर्धा
महिला महामन्त्री पदमा प्रारम्भिक ५० मत गणना हुँदा डा. डिला संग्रौला (पन्त) ले २१ र महालक्ष्मी उपाध्याय (डिना) ले २२ मत प्राप्त गरेका छन्। रीता खनालले ६ मत पाएकी छन्।
मतगणना जारी रहेकाले प्रारम्भिक मतपरिणाम परिवर्तन हुन सक्नेछ।



प्रतिक्रिया