गोरखा– गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आएपछि चुमनुब्री गाउँपालिकाका जगत र सल्लेरी बजारमा क्षति पुगेको छ। नदीमा पानीको बहाव अचानक बढेपछि तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ भागेका छन्।
स्थानीयका अनुसार बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजार र जगत बगर क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। बाढीका कारण आसपासका बस्तीमा त्रास फैलिएको छ।
चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बूढीगण्डकी नदीमा स्यारखोला क्षेत्रतर्फबाट बाढी आएको हो।
स्थानीय भैरव घलेले नदीमा ठूलो बाढी आएको र जगत तथा सल्लेरी बजारमा क्षति पुगेको जानकारी दिएका छन्। बाढी बढेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित पाखातर्फ गएको बताइएको छ।
यसैबीच, गोरखाको चुमनुब्री गाउँपालिका–स्थित छेकम्पारमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएको हुन सक्ने आशंका गरिएको छ। पहिरोका कारण नदी थुनिएर एक्कासि पानीको बहाव बढेको हुन सक्ने अनुमान गरिए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको र बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको जानकारी दिएका छन्।
बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्। माछीखोला दोभान, आरुघाटलगायत बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सावधानी अपनाउन आग्रह
बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित अग्लो स्थानमा जान र बाढी आएको नदी तर्न वा नजिक पुग्नबाट जोगिन आग्रह गरिएको छ। सम्भावित पहिरोले नदी थुनिएको अवस्था भएमा थप बाढी आउन सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आवश्यक छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण र मानवीय क्षतिबारे आधिकारिक जानकारी आउन बाँकी छ।



प्रतिक्रिया