कांग्रेस महाधिवेशन : परिवर्तनको जनादेश कि पुनर्जागरणको अधुरो यात्रा ?

कांग्रेस महाधिवेशन : परिवर्तनको जनादेश कि पुनर्जागरणको अधुरो यात्रा ?

ऐतिहासिक सहभागिता, नेतृत्व परिवर्तन, समावेशिताको परीक्षा र समानान्तर महाधिवेशनको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको प्रमुख ऐतिहासिक शक्ति हो । राणा शासनविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, लोकतन्त्रको पुनःस्थापना र गणतान्त्रिक संविधान निर्माणसम्म कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर इतिहासको गौरव वर्तमानको सफलताको ग्यारेन्टी होइन ।

विगतमा जनताको विश्वास जितेको पार्टीले वर्तमानमा पनि त्यही विश्वास कायम राख्छ भन्ने हुँदैन । इतिहासले सम्मान दिलाउन सक्छ, तर भविष्यको राजनीतिक वैधता वर्तमानको व्यवहारले मात्र सुनिश्चित गर्दछ ।

कांग्रेसको १५औँ महाधिवेशन यही यथार्थको समीक्षा गर्ने अवसर बनेको छ । व्यापक प्रतिनिधि सहभागिता, नेतृत्व चयनमा देखिएको प्रतिस्पर्धा, समावेशी प्रतिनिधित्व विस्तारको प्रयास र सभापतिमा गगनकुमार थापाको विजयले पार्टीभित्र परिवर्तनको अपेक्षा बलियो रहेको संकेत गरेका छन् । तर नेतृत्व परिवर्तन हुँदैमा राजनीतिक संस्कार बदलिन्छ भन्ने छैन । नयाँ प्रतिनिधित्वको व्यवस्था हुँदैमा निर्णय प्रक्रियामा सबैको प्रभावकारी सहभागिता सुनिश्चित हुन्छ भन्ने पनि होइन ।

त्यसैले १५औँ महाधिवेशनको मूल्याङ्कन गर्दा तीन प्रश्न महत्वपूर्ण छन् यसले कस्तो परिवर्तनको जनादेश दिएको छ, पार्टीको संस्थागत संरचनामा कति वास्तविक सुधार ल्याएको छ र त्यसलाई जनताको विश्वासमा रूपान्तरण गर्ने क्षमता नयाँ नेतृत्वले देखाउन सक्छ कि सक्दैन ?

आजका नागरिकलाई विगतका आन्दोलनको सूची मात्र पर्याप्त छैन । उनीहरूलाई रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, न्याय, सुशासन र सम्मानजनक जीवनका अवसर चाहिन्छ ।

इतिहासभन्दा वर्तमानको ठूलो

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको लोकतन्त्रप्रतिको प्रतिबद्धता र कमजोर वर्गप्रतिको संवेदनशीलता पार्टीका महत्त्वपूर्ण वैचारिक सम्पत्ति हुन् । लोकतान्त्रिक अधिकार प्राप्तिका लागि कांग्रेसले गरेको संघर्ष र यसका नेता तथा कार्यकर्ताको योगदानलाई इतिहासबाट अलग गर्न सकिँदैन । तर नयाँ पुस्ताले इतिहासको सम्मानसँगै वर्तमानको हिसाब पनि खोज्नु पर्दछ ।

आजका नागरिकलाई विगतका आन्दोलनको सूची मात्र पर्याप्त छैन । उनीहरूलाई रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, न्याय, सुशासन र सम्मानजनक जीवनका अवसर चाहिन्छ ।

राजनीतिक दलप्रतिको समर्थन इतिहासको गौरवले मात्र टिक्दैन; नागरिकको जीवनमा ल्याएको परिवर्तनले त्यसलाई बलियो बनाउँछ ।

कांग्रेसले यही अन्तर बुझ्नुपर्दछ । लोकतन्त्रका लागि संघर्ष गरेको गौरव त्यतिबेला अर्थपूर्ण हुन्छ, जुनवेला शासन सञ्चालन गर्ने अवसर पाउँदा नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । इतिहासको सम्मान उपलब्धि दोहोर्‍याएरमात्र होइन, त्यसले स्थापित गरेका मूल्य र मान्यतालाई वर्तमानको व्यवहारमा उतारेर हुन्छ ।

महाधिवेशनको मत : ठूलो समर्थन र जिम्मेवारी

१५औँ महाधिवेशनमा गगनकुमार थापाले प्राप्त गरेको मत सामान्य नेतृत्व चयनको परिणाम मात्र होइन । प्रकाशित मतपरिणाम अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि मध्ये सभापतिका उम्मेदवार गगन थापाले ९३.९ प्रतिसत अर्थात ६ हजार ५८४ मत प्राप्त गर्दै विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । यद्यपि, थापाको विजयले पार्टी भित्र नेतृत्व परिवर्तनप्रतिको बलियो समर्थन देखाउँछ । यसले नयाँ नेतृत्वमाथि ठूलो अपेक्षा र जिम्मेवारी दुवै थपेको छ ।

१४औँ महाधिवेशनको दोस्रो चरणमा शेरबहादुर देउवा २ हजार ७३३ मतसहित सभापति निर्वाचित भएका थिए । दुई महाधिवेशनको मत तुलना गर्दा प्रतिनिधिको सङ्ख्या, प्रतिस्पर्धाको अवस्था र राजनीतिक पृष्ठभूमि फरक रहेको तथ्य बिर्सनु हुँदैन ।

नेतृत्वले प्राप्त गरेको समर्थनलाई संगठन सुधार र जनविश्वास पुनर्निर्माणमा बदल्न सक्छ कि सक्दैन ? परिवर्तनको अपेक्षा बोकेर मतदान गरेका प्रतिनिधिहरूको विश्वास कायम राख्न नयाँ नेतृत्वले व्यवहारबाट परिणाम देखाउनु पर्दछ ।

निर्णय प्रक्रियामा पारदर्शिता, योग्यताका आधारमा जिम्मेवारी वितरण, गुटगत प्रभावमा कमी र नेतृत्वको जवाफदेहिता स्थापित भएमा मात्र सभापति परिवर्तन संस्थागत सुधारमा बदलिन्छ ।

समावेशिता : प्रतिनिधित्वबाट पहुँचसम्म

१५औँ महाधिवेशनको महत्वपूर्ण पक्ष युवा, महिला र विभिन्न सामाजिक समूहको प्रतिनिधित्व विस्तार गर्ने प्रयास हो । पार्टीको विधानमा महिलाको कम्तीमा एकतिहाइ सहभागिता तथा विभिन्न तहमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ ।

केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवाका लागि पनि निश्चित प्रतिनिधित्वको प्रावधान गरिएको छ । यी व्यवस्था सकारात्मक छन् । तर समावेशिताको वास्तविक उपलब्धि पदको सङ्ख्याले मात्र मापन हुँदैन । युवा प्रतिनिधि बने पनि नीति निर्माणमा उनीहरूको विचार सुनिँदैन भने प्रतिनिधित्व औपचारिकतामा सीमित हुन्छ ।

देउवा पक्षले उठाएका विधान र कार्यकालसम्बन्धी प्रश्नको परीक्षण विधिसम्मत रूपमा हुनुपर्दछ । अर्काेतर्फ, निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको मान्यतालाई सर्वाेच्च अदालतले सदर गरेको तथ्यलाई पनि बेवास्ता गर्न मिल्दैन ।

महिलाको सहभागिता बढे पनि प्रमुख जिम्मेवारी र निर्णय प्रक्रियामा पहुँच सुनिश्चित हुँदैन भने समानताको उद्देश्य अधुरै रहन्छ ।

विषयविज्ञ तथा पेसाकर्मी, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, द्वन्द्वपीडित र सहिद परिवारको सहभागिता पनि उनीहरूका वास्तविक सरोकारलाई पार्टीको नीति र कार्यदिशामा समेट्ने माध्यम बन्नुपर्दछ । विभिन्न समुदायका प्रतिनिधिले पार्टीभित्र स्थान पाउनु महत्त्वपूर्ण छ, तर उनीहरूको अनुभवले पार्टीको निर्णय र कार्यशैली बदल्नु अझ महत्वपूर्ण छ ।

त्यसैले वडा समितिदेखि पालिका, प्रदेश, जिल्ला हुँदै केन्द्रीय समितिसम्म युवा, महिला र लक्षित समूहको प्रतिनिधित्व सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिनु पर्दछ । आरक्षित व्यवस्थाबाट आएका र खुला प्रतिस्पर्धाबाट निर्वाचित प्रतिनिधिको विवरण छुट्ट्याउँदा वास्तविक अवस्था बुझ्न सहज हुन्छ ।

समावेशितालाई पद बाँडफाँटको गणितमा सीमित नराखी नीतिगत प्रभाव र नेतृत्व विकाससँग जोड्नु पर्दछ ।

एउटै कांग्रेस, दुई महाधिवेशन

१५औँ महाधिवेशनपछि कांग्रेसभित्र देखिएको सबैभन्दा जटिल प्रश्न देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको प्रक्रिया हो । गगन थापा नेतृत्वको पक्षले महाधिवेशन सम्पन्न गरेपछि देउवा पक्षले मंसिर २१–२३ मा छुट्टै महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

देउवा पक्षको तर्क पार्टी कार्यसमितिको कार्यकाल, विशेष महाधिवेशनको वैधतासम्बन्धी विवाद र सर्वाेच्च अदालतमा पुनरावलोकनको प्रक्रियासँग जोडिएको छ । यस विवादलाई कुनै एक पक्षको दाबीका आधारमा मात्र टुङ्गयाउनु उचित हुँदैन ।

देउवा पक्षले उठाएका विधान र कार्यकालसम्बन्धी प्रश्नको परीक्षण विधिसम्मत रूपमा हुनुपर्दछ । अर्काेतर्फ, निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको मान्यतालाई सर्वाेच्च अदालतले सदर गरेको तथ्यलाई पनि बेवास्ता गर्न मिल्दैन ।

यसअघि अदालतले दिएको निर्णय पुनरावलोकनका लागि अनुमति प्राप्त हुँदैमा स्वतः खारेज हुने होइन । त्यसैले अदालतको फैसला, पुनरावलोकनको अवस्था र राजनीतिक दाबीबीचको भिन्नता स्पष्ट राख्नुपर्दछ ।

कानुनी विवादको अन्तिम अवस्थाबारे सम्बन्धित निकायको पछिल्लो निर्णयका आधारमा मात्र निष्कर्ष निकाल्नु उचित हुन्छ ।

यहाँ मूल प्रश्न कुनै नेता सही वा गलत भन्ने मात्र होइन । एउटै पार्टीमा दुईवटा महाधिवेशनको दाबी कायम रहँदा कार्यकर्ता, संगठन र नागरिकमा कस्तो सन्देश जान्छ? पार्टीको विधान सबैका लागि समान रूपमा लागू हुन्छ कि हुँदैन? असहमतिका विषय संस्थागत प्रक्रियाबाट समाधान गरिन्छ कि समानान्तर संरचना निर्माण गरेर विवाद लम्ब्याइन्छ? देउवा पक्षले आफ्नो कानुनी तर्क प्रस्तुत गर्न पाउँछ । तर त्यसको परीक्षण पार्टी विधान, लागू कानुन र सम्बन्धित निकायका निर्णयका आधारमा हुनु पर्दछ ।

त्यस्तै, गगन नेतृत्वले प्राप्त संस्थागत मान्यतालाई सबै पक्षलाई समेट्ने र जवाफदेही संगठन निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नु पर्दछ ।

कानुनी मान्यता प्राप्त हुनु र संगठनात्मक एकता कायम हुनु फरक कुरा हुन् । एकताका लागि राजनीतिक संवाद, असहमतिप्रतिको सम्मान र संस्थागत विश्वास पनि आवश्यक हुन्छ । लोकतान्त्रिक दलको शक्ति सबैले एउटै विचार राख्नुमा होइन, फरक विचार राख्नेहरू पनि साझा नियम र संस्थागत प्रक्रियाभित्र सहकार्य गर्न सक्नुपर्दछ ।

गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि संस्था

कांग्रेसको पुनर्जागरणका लागि नेतृत्व परिवर्तनसँगै राजनीतिक संस्कारमा परिवर्तन आवश्यक देखिन्छ । नेतृत्वबीच प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यास हो, तर प्रतिस्पर्धाले संगठनलाई बलियो बनाउनु पर्दछ । निर्णय विचार र नीतिभन्दा गुटगत स्वार्थबाट निर्देशित हुन थाले, योग्यताभन्दा नेतृत्वसँगको निकटताले अवसर निर्धारण गर्न थाल्यो भने संगठनको सामूहिक क्षमता कमजोर हुन्छ ।

कांग्रेसको पुनर्जागरणका लागि नेतृत्व परिवर्तनसँगै राजनीतिक संस्कारमा परिवर्तन आवश्यक देखिन्छ । नेतृत्वबीच प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यास हो, तर प्रतिस्पर्धाले संगठनलाई बलियो बनाउनु पर्दछ ।

महाधिवेशनमा समर्थन माग्ने नेताले निर्वाचनपछि समर्थन गर्ने र नगर्ने दुवै पक्षलाई सम्मान गर्नुपर्दछ । पराजित नेता तथा कार्यकर्ताको अनुभव र योगदानलाई बेवास्ता गर्नु संगठनका लागि घाटा हो । त्यस्तै, निर्वाचनको परिणाम स्वीकार गर्दै साझा उद्देश्यमा योगदान गर्नु पराजित पक्षको पनि जिम्मेवारी हो ।

बीपी कोइरालाको राजनीतिक चिन्तनबाट लिन सकिने महत्वपूर्ण शिक्षा हो– ‘राजनीति पद प्राप्तिको प्रतिस्पर्धामा मात्र सीमित हुनुहुँदैन । यसको आधार विचार, सिद्धान्त र जनताप्रतिको उत्तरदायित्व हुनु पर्दछ । पद जनताको सेवा र लोकतान्त्रिक मूल्यको संरक्षण गर्ने माध्यम हो, अन्तिम लक्ष्य होइन’ । कांग्रेसले संस्थागत सुधार चाहन्छ भने विधान सबैका लागि समान रूपमा लागू हुनु पर्दछ । निर्णय प्रक्रिया पारदर्शी हुनु पर्दछ र गल्ती गर्ने नेतृत्वसमेत जवाफदेही बन्नु पर्दछ ।

गुटले केही व्यक्तिलाई बलियो बनाउन सक्छ, तर दीर्घकालीन रूपमा पार्टीलाई बलियो बनाउने आधार संस्थागत विश्वास र साझा राजनीतिक उद्देश्य नै हो ।

जनताको अपेक्षा : सुशासनदेखि जलवायु न्यायसम्म

आज नागरिकले राजनीतिक दलको मूल्याङ्कन भाषण र इतिहासका आधारमा मात्र गर्दैनन् । उनीहरूले रोजगारी, सार्वजनिक सेवाको गुणस्तर, भ्रष्टाचारप्रतिको व्यवहार, पारदर्शिता र नेतृत्वको जवाफदेहितामा हेर्दछन ।

त्यसैले कांग्रेसको पुनर्जागरण संगठनभित्रको शक्ति सन्तुलन परिवर्तनमा मात्र सीमित हुनुहुँदैन; सार्वजनिक नीति र शासनप्रतिको दृष्टिकोणमा समेत परिवर्तन आउनु पर्दछ ।

पहिलो प्राथमिकता सुशासन हो । भ्रष्टाचारविरुद्धको प्रतिबद्धता भाषणमा सीमित नभई नेता तथा कार्यकर्ताको व्यवहारबाट प्रमाणित हुनु पर्दछ । सार्वजनिक स्रोतको सदुपयोग, निर्णय प्रक्रियाको पारदर्शिता र सार्वजनिक पदमा बसेका व्यक्तिको जवाफदेहिता पार्टीकै राजनीतिक संस्कार बन्नु पर्दछ ।

दोस्रो प्राथमिकता रोजगारी र आर्थिक अवसर हो । युवालाई विदेश जानबाट रोक्ने भावनात्मक अपिल गरेर मात्र पुग्दैन । कृषि, पर्यटन, उद्यमशीलता, उद्योग र सीप विकासमार्फत देशभित्रै सम्मानजनक रोजगारी सिर्जना गर्ने नीति आवश्यक छ ।

तेस्रो प्राथमिकता सार्वजनिक सेवाको सुधार र सामाजिक न्याय हो । शिक्षा, स्वास्थ्य, न्याय तथा सामाजिक सुरक्षामा सहज पहुँच सुनिश्चित गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, खस आर्य, अल्पसङ्खयक, अपाङ्गता भएका व्यक्ति र पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता बढाउनु पर्दछ ।

चौथो प्राथमिकता जलवायु परिवर्तन र विपद् व्यवस्थापन हो । बाढी, पहिरो र खडेरीबाट प्रभावित समुदायको सुरक्षा, जोखिम न्यूनीकरण, पूर्वसूचना, सुरक्षित पूर्वाधार, उद्धार र पुनर्निर्माणलाई राजनीतिक प्राथमिकतामा राख्नु पर्दछ । विपद् आएपछि राहत वितरणमा सीमित नभई पूर्वतयारी र जलवायु न्यायमा ध्यान दिनु पर्दछ ।

कांग्रेसको पुनर्जागरणका लागि नेतृत्व परिवर्तनसँगै राजनीतिक संस्कारमा परिवर्तन आवश्यक देखिन्छ । नेतृत्वबीच प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यास हो, तर प्रतिस्पर्धाले संगठनलाई बलियो बनाउनु पर्दछ ।

यी प्रतिबद्धता कार्यान्वयनयोग्य कार्ययोजना, समयसीमा र मापन गर्न सकिने लक्ष्यसँग जोडिनु पर्दछ । कुन क्षेत्रमा के सुधार गर्ने, जिम्मेवारी कसले लिने र उपलब्धिको मूल्याङ्कन कसरी गर्ने भन्ने स्पष्ट नभए परिवर्तनको घोषणा नारामै सीमित हुनेछ ।

संगठनको वास्तविक शक्ति

राजनीतिक दलको वास्तविक आधार गाउँ, टोल र वडामा रहेका कार्यकर्ता तथा नागरिकसँगको सम्बन्ध हो । चुनाव वा महाधिवेशनका बेला सक्रिय हुने र त्यसपछि निष्क्रिय रहने संगठनले जनताको विश्वास लामो समयसम्म कायम राख्न सक्दैन ।

वडा तहका कार्यकर्तालाई नेताका वरिपरि घुम्ने भूमिकामा सीमित नराखी पार्टीको नीति र जनताको अपेक्षाबीचको पुल बनाउनु पर्दछ ।

नियमित जनसंवाद, स्थानीय समस्याको अभिलेखीकरण र सार्वजनिक सेवाको निगरानी गर्ने अभ्यास विकास गर्नु पर्दछ । पार्टी सत्तामा हुँदा शासनलाई प्रभावकारी बनाउन र प्रतिपक्षमा हुँदा सरकारका कामको निगरानी गरी नागरिकका सरोकार उठाउन सक्रिय हुनु पर्दछ ।

कांग्रेसले आफ्ना नीति, संगठन र सरकार सञ्चालनका अनुभवको वस्तुनिष्ठ समीक्षा पनि गर्नु पर्दछ । कहाँ सफल भयो, कहाँ जनताको अपेक्षा पूरा गर्न सकेन र असन्तुष्टि बढ्नुका कारण के हुन् भन्ने प्रश्नमा खुला बहस आवश्यक छ । आलोचनालाई नेतृत्वविरोधी गतिविधि ठान्ने होइन, सुधारको अवसरका रूपमा स्वीकार गर्नु पर्दछ ।

महाधिवेशनका निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी र समयसीमा तोकिनु पर्दछ । सुधारको प्रगति नियमित रूपमा समीक्षा गरी कार्यकर्ता र नागरिकलाई जानकारी दिनु पर्दछ । अन्यथा पुनर्जागरणको घोषणा पनि अर्काे राजनीतिक नारामा सीमित हुन सक्छ ।

आत्मसमीक्षा र पुनर्जागरण

जनताको विश्वास पुनःस्थापित गर्ने पहिलो सर्त आत्मसमीक्षा हो । कांग्रेसले आफ्ना नीति, संगठन, नेतृत्व विकास र सरकार सञ्चालनका अनुभवको वस्तुनिष्ठ समीक्षा गर्दै कमजोरी स्वीकार्ने र सुधार्ने साहस देखाउनु पर्दछ ।

आलोचनालाई नेतृत्वविरोधी गतिविधि होइन, लोकतान्त्रिक सुधारको आधार मान्नु पर्दछ । लोकतन्त्रको रक्षा निर्वाचनमा सीमित हुँदैन, विधिको शासन, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक जवाफदेहिताको संरक्षण पनि उत्तिकै आवश्यक छ ।

त्यसैगरी, समाजवाद नारामा होइन, अवसरको समानता, गुणस्तरीय सार्वजनिक सेवा, सामाजिक सुरक्षा र आर्थिक असमानता न्यूनीकरणका नीतिमा देखिनु पर्दछ । कांग्रेसले आफ्ना मूल सिद्धान्तलाई नयाँ पुस्ताका आवश्यकता र आकाङ्क्षासँग जोड्न सके मात्र इतिहासको विरासतलाई भविष्यको दिशामा रूपान्तरण गर्न सक्छ ।

आत्मसमीक्षा तब मात्र सार्थक हुन्छ, जब त्यसबाट सुधारको स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा तय हुन्छ । अन्यथा पुनर्जागरणको घोषणा पनि अर्काे राजनीतिक नारामा सीमित हुनेछ ।

कांग्रेसको वास्तविक परीक्षा नेतृत्व परिवर्तनमा होइन, आफ्ना कमजोरी सच्याएर जनताको जीवन र विश्वासमा देखिने परिवर्तन ल्याउन सक्ने क्षमतामा छ ।

निष्कर्ष

कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व परिवर्तन र संगठन सुधारको अपेक्षालाई स्पष्ट रूपमा अघि सारेको छ । सभापतिमा प्राप्त ठूलो मतसमर्थन र समावेशी प्रतिनिधित्व विस्तारका प्रयास महत्त्वपूर्ण उपलब्धि हन् । तर यी उपलब्धिले आफैँमा पुनर्जागरण सुनिश्चित गर्दैनन् ।

वास्तविक परीक्षा महाधिवेशनपछि सुरु हुन्छ–जब नयाँ नेतृत्वले निर्णय प्रक्रिया, संगठनात्मक संस्कार र जनताप्रतिको उत्तरदायित्वमा परिवर्तन देखाउनु पर्दछ ।

देउवा पक्षको समानान्तर महाधिवेशनसम्बन्धी दाबीले पनि कांग्रेसलाई गम्भीर प्रश्न सोधिरहेको छ । वैधानिकता र असहमतिका विषयको समाधान विधिसम्मत प्रक्रियाबाट खोज्ने कि समानान्तर संरचना निर्माण गरेर विवाद लम्ब्याउने? यसको उत्तर पार्टी विधान, सम्बन्धित निकायका निर्णय र नेतृत्वको व्यवहारले दिनु पर्दछ । एकताका नाममा विधि र जवाफदेहिता पन्छाउन मिल्दैन; परिवर्तनका नाममा संस्थागत संवाद र असहमतिप्रतिको सम्मान कमजोर पार्न पनि मिल्दैन ।

कांग्रेसले जनताको विश्वास फर्काउने हो भने गुटगत प्रतिस्पर्धालाई संस्थागत सहकार्यमा, इतिहासको गौरवलाई वर्तमानको जिम्मेवारीमा र चुनावी नारालाई कार्यान्वयनयोग्य योजनामा बदल्नु पर्दछ ।

युवालाई प्रतिनिधित्व मात्र होइन, निर्णय गर्ने अवसर दिनु पर्दछ । महिलासहित विभिन्न समुदायको सहभागितालाई सङ्खयामा सीमित नराखी नीतिगत प्रभावमा बदल्नु पर्दछ ।

कांग्रेसले जनताको विश्वास फर्काउने हो भने गुटगत प्रतिस्पर्धालाई संस्थागत सहकार्यमा, इतिहासको गौरवलाई वर्तमानको जिम्मेवारीमा र चुनावी नारालाई कार्यान्वयनयोग्य योजनामा बदल्नु पर्दछ ।

कार्यकर्ताको योगदानको सम्मान गर्दै नागरिकका प्रश्नलाई पार्टीको प्राथमिकता बनाउनु पर्दछ । कांग्रेसको भविष्य यसको इतिहास कति गौरवशाली थियो भन्नेमा मात्र निर्भर छैन । त्यो वर्तमानमा जनताको जीवन सुधार्न, लोकतान्त्रिक मूल्यको रक्षा गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न कति इमानदार प्रयास गर्छ भन्नेमा निर्भर हुनेछ ।

कांग्रेसले जनताको विश्वास भाषणबाट होइन, व्यवहारबाट जित्नु पर्दछ; इतिहासको गौरवबाट होइन, वर्तमानको जिम्मेवारी पूरा गरेर भविष्य निर्माण गर्नु पर्दछ । १५औँ महाधिवेशनको सबैभन्दा ठूलो परीक्षा यही हो–यो नेतृत्व परिवर्तनमा सीमित हुन्छ कि कांग्रेसको राजनीतिक संस्कार र जनतासँगको सम्बन्धमा वास्तविक पुनर्जागरणको सुरुवात बन्छ?