काठमाण्डु – काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबिच काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर सम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरे ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डु उपत्यकास्थित नयाँबसपार्क, टोखा, नेपालटार, तारेभिर, बालाजु, बाफल, लैनचौर, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, लुभू, बोहोराटार, नयाँबस्ती, हनुमानस्थान, साँखु र सातदोबाटो लगायतका स्थानबाट सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सोमबार बुझाइएका ५० वटासहित साउन महिनामा २१३ वटा सवारीसाधन काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १८ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारीसाधन जिम्मा लिएपश्चात सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले अनुरोध गरे ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया