विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरेका थिए।

यता, ओमानले पनि शुक्रबार क्यानडालाई हराएको थियो। ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ। त्यसैले अब नेपालका लागि बाँकी खेल ओडीआई हैसियत जोगाउने दृष्टिले महत्वपूर्ण बनेका छन्।

लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको माथिल्लो स्थानमा छ।

शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई रहनेछन्।

अब लिग–२ मा नेपालले पाँचौं वा छैटौं स्थानमध्ये एकमा रहेर प्रतियोगिता टुंग्याउने सम्भावना छ। ओडीआई मान्यता जोगाउने विषयमा आईसीसीको स्पष्ट प्रावधान सार्वजनिक भइसकेको छैन ।