काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी अश्लील टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्।
घटनालाई लिएर आफ्नै पार्टीका सांसददेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्मले आलोचना गरेका छन्।
सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारको भएको दाबीसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको बताइएको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।
अडियोमा सुनिने भाषा अत्यन्तै आपत्तिजनक र महिलाप्रति अपमानजनक रहेको भन्दै सुनारमाथि प्रश्न उठाइएको छ। घटनापछि उनीमाथि कारबाही गर्नुपर्ने र सांसद पदबाट राजीनामा दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।
विवाद चर्किएपछि सांसद सुनारको प्रतिक्रिया लिन खोज्दा उनको फोन स्विच अफ रहेको बताइएको छ। उनले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका छैनन्।
रास्वपाभित्रै असन्तुष्टि
सुनारको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाकै सांसदहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपा सांसद ज्वाला संग्रौलाले फेसबुकमा लेखेकी छन्, ‘अश्लील .. सुन्नै नसकिने।’ त्यस्तै, रास्वपा सांसद राजीव खत्रीले लेखेका छन्, ‘सुन्न नसकिने कुरा। यति भनौं, जस्तो कथनी, उस्तो भरनी।’
आफ्नै दलका सांसदहरूबाट आएको प्रतिक्रियाले पनि सुनारको भनिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र असहजता देखिएको छ।
प्रदीप ज्ञवालीको प्रश्न : रास्वपा किन मौन?
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सुनारको भनिएको अभिव्यक्तिको कडा आलोचना गर्दै रास्वपाको मौनतामाथि प्रश्न उठाएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक। जति भर्त्सना गरे पनि पुग्दैन।’
ज्ञवालीले आफ्नै पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको चरित्रबारे गम्भीर प्रश्न उठ्ने सामग्री सार्वजनिक हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।
उनले रास्वपाको मौनता विवादास्पद पात्रका गतिविधिको मौन अनुमोदनका रूपमा बुझिने अवस्था आउन नदिन पनि सचेत गराएका छन्।
प्रवक्ताले दिएनन् प्रतिक्रिया
सुनार विवादमा तानिएको विषयमा पार्टीको आधिकारिक धारणा बुझ्न खोज्दा रास्वपा प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
आफू काठमाडौं बाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएको बताउँदै उनले बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताएका छन्।
सांसदको भनिएको अडियो सार्वजनिक भएपछि आफ्नै दलका सांसदहरूले समेत आलोचना गरिरहँदा पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।



प्रतिक्रिया