रियाद विमानस्थलमाथि हुथीको निशाना, साउदीले थाल्यो हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

रियाद विमानस्थलमाथि हुथीको निशाना, साउदीले थाल्यो हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी भएको हुथी आक्रमण रोक्न हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ।

क्षेत्रीय अधिकारीहरूका अनुसार इरान समर्थित यमनका हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

नाम नखुलाउने सर्तमा बोलेका दुई क्षेत्रीय अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले पहिले ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको र त्यसपछि क्रुज तथा ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत रियाद विमानस्थललाई निशाना बनाएको देखाएको छ।

हुथी विद्रोहीसँग लामो दूरीसम्म प्रहार गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र र उडानका क्रममा दिशा परिवर्तन गर्न सक्ने उन्नत हतियार रहेको बताइएको छ। यस्ता हतियारले साउदी अरबले प्रयोग गर्दै आएको प्याट्रियटलगायतका हवाई रक्षा प्रणालीलाई चुनौती दिन सक्ने अधिकारीहरूको भनाइ छ।

अनुसन्धानले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद पुगेका क्षेप्यास्त्र तथा ड्रोनलाई साउदी हवाई रक्षा प्रणालीले समयमै पहिचान गरी पूर्वचेतावनी दिन नसकेको कारणसमेत पत्ता लगाउनेछ।

पछिल्लो आक्रमणले साउदी अरबको हवाई सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। गत सातादेखि देशका विभिन्न विमानस्थललाई लक्षित गरी आक्रमण भइरहेका बेला रियादको घटनाले सुरक्षा चुनौती थपिएको देखिएको छ। यसले अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि विस्तार हुँदै गएको मध्यपूर्वको द्वन्द्व थप जटिल बन्न सक्ने चिन्ता पनि बढाएको छ।

साउदी नेतृत्वको गठबन्धनले सोमबार रियादतर्फ प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रका दुई समूहलाई बीचमै अवरोध गरी नष्ट गरेको जनाएको छ। सोमबार राति राजधानीमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतरा टरेको बताएका थिए।

यता, हुथी विद्रोहीले सोमबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले मुस्लिम धर्मावलम्बीका पवित्र सहर मक्का र मदिनाबाहेक साउदी अरबका अन्य विमानस्थल असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई चेतावनीसमेत दिएका छन्।

हवाई रक्षा प्रणालीको प्रभावकारिता, क्षेप्यास्त्र पहिचान गर्ने क्षमता र पूर्वचेतावनी संयन्त्रबारे अनुसन्धानबाट प्राप्त हुने निष्कर्षले साउदी अरबको आगामी सुरक्षा रणनीतिमा प्रभाव पार्न सक्ने देखिएको छ।