आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –शारदीय नवरात्रको चौथो दिन बुधबार आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ ।

पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई ‘कुष्माण्डा’ तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ । उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ ।

आठ वटा हात भएकी यी अष्टभूजा देवीको वाहन सिंह हो । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ । देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई वटा घडा समेत लिएकी छन् । यिनको भक्तिपूर्वक पूजा-आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।

कुष्माण्डा देवीलाई कुभिण्डोको बलि प्रिय लाग्ने गर्दछ । संस्कृतमा कुभिण्डोलाई ‘कुष्माण्डा’ भनिने र यसलाई देवीको प्रतीक मानेर शक्ति पीठहरूमा विधिपूर्वक पूजा तथा बलि चढाउने परम्परा रहेको छ । साथै, यस दिन देवीलाई मालपुवा प्रसादका रूपमा चढाउने, दान गर्ने र ग्रहण गर्ने चलन छ, जसबाट बुद्धिको विकास हुने शास्त्रीय मान्यता छ ।

शास्त्रोक्त विधिअनुसार बिहान सबेरै नित्यकर्म सकेर शुद्ध वस्त्र धारण गरी कलश, दीप र गणेश स्थापना गरेर संकल्पसहित कुष्माण्डा देवीको पूजा गरिन्छ । पूजामा कमल तथा राता फूल, पञ्चामृत, फलफूल र नैवेद्य अर्पण गरिन्छ ।