प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका छन् ।

नेपाली सेनाका अनुसार भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए ।

भ्रमणका क्रममा उनले बेलायतको वेल्सस्थित ब्रेकनमा रहेको इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’मा निरीक्षण गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकल दर्जालाई प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभन गरेका थिए ।

प्रधानसेनापति सिग्देलको भ्रमणले नेपाल र बेलायतबिच सदियौँदेखि कायम रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।