काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका विमानस्थलको सञ्चालन, व्यवस्थापन, सरसफाइ र यात्रु सेवा सुविधामा विशेष ध्यान दिन निर्देशन दिएको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल तथा देशभरका विभिन्न आन्तरिक विमानस्थल कार्यालयलाई यस्तो निर्देशन पठाएको हो।
प्राधिकरणको प्रधान कार्यालयअन्तर्गत विमानस्थल योजना तथा सुविधासम्बन्धी विभागले देशभरका विमानस्थल कार्यालयहरूलाई पत्राचार गर्दै उपलब्ध जनशक्ति र बजेटको अधिकतम उपयोग गरी यात्रु सुविधालाई व्यवस्थित बनाउन निर्देशन दिएको हो।
प्राधिकरणले विमानस्थल सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९ र विमानस्थल सरसफाइ सेवा निर्देशिका, २०७९ मा भएका व्यवस्थाअनुसार काम गर्न भनेको छ।
चाडपर्वका बेला हवाई यात्रुको आवागमन बढ्न सक्ने भएकाले उपलब्ध कर्मचारी जनशक्ति र आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेटको प्रभावकारी उपयोग गर्न पत्रमा भनिएको छ।
त्यस्तै, विमानस्थलको सञ्चालन, व्यवस्थापन र सरसफाइजस्ता विषयमा कार्यालय प्रमुखहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्राधिकरणले यी कामलाई उनीहरूको कार्यक्षमता मूल्याङ्कनको प्रमुख आधारका रूपमा समेत स्मरण गराएको छ।
प्राधिकरणले विमानस्थलको समुचित सञ्चालन तथा व्यवस्थापन, यात्रु सेवा सुविधा र कार्यालयको आन्तरिक सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ।


प्रतिक्रिया