काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको ९ दिनमै गुञ्जन शाह ठकुरी पदबाट हटाइएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।
गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट समेत असन्तुष्टि प्रकट भएको थियो।
क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी संस्थाको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिबारे प्रश्न उठेको थियो।
राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट असोज १९ गते गरिएको मनोनयनको समाचार सार्वजनिक भएपछि उनको नियुक्तिबारे आलोचना सुरू भएको थियो।
आफ्नो नियुक्तिपत्र क्यानका उपाध्यक्ष रोशन सिंहलाई गुञ्जनले बुझाउँदै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
जेन-जी आन्दोलनपछि सत्तानिकट
शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट जेन-जी नेतृ हुन्। गत वर्षको जेन-जी आन्दोलनमा सक्रिय रहेकी उनी आन्दोलनपछि राष्ट्रपति कार्यालयमा भएको वार्तादेखि जंगीअड्डासम्मका गतिविधिमा देखिएकी थिइन्।
उनी गृहमन्त्री सुधन गुरुङसँग निकट रहेको बताइन्छ। रास्वपाको नवप्रवर्तन विभागकी सदस्यसमेत रहेकी शाह चितवनमा भएको पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी थिइन्।
२०८२ चैत १३ गते वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि उनी तत्कालीन उद्योगमन्त्री गौरी यादवको स्वकीय सचिव पनि बनेकी थिइन्।
ग्यास अभाव प्रकरणमा यादवले राजीनामा दिएपछि शाहको स्वकीय सचिवको जिम्मेवारी पनि सकिएको थियो। त्यसपछि उनले क्यानको बोर्ड सदस्यमा नियुक्ति पाएकी थिइन्।
क्रिकेटमा अनुभव ?
शाहको नियुक्तिमाथि उठेको मुख्य प्रश्न उनको क्रिकेटसम्बन्धी अनुभव र विज्ञतालाई लिएर थियो। उनी क्रिकेटको नीतिगत तथा व्यवस्थापकीय क्षेत्रमा लामो अनुभव भएकी व्यक्ति होइनन्।
जेन-जी आन्दोलनअघि उनी सामाजिक सञ्जालमा प्राङ्क भिडियो तथा भ्लग बनाउने गर्थिन्। गाउँघरमा सामान्य रूपमा क्रिकेट खेल्ने गरेको मात्रै अनुभव उनीसँग थियो ।
गत जनवरीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा उनले लियाजन अफिसरको भूमिका निर्वाह गरेकी थिइन्। उक्त भूमिकामा विदेशी टोलीसँग समन्वय गर्ने, दोभाषेको र खेलाडीलाई सहयोग पुर्याउने जिम्मेवारी पर्छ।
तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा लियाजन अफिसरको भूमिका निर्वाह गरेको अनुभव र क्रिकेटको नीतिगत निर्णय गर्ने निकायको बोर्ड सदस्यका रूपमा आवश्यक विशेषज्ञताको तुलनै हुँदैन । यहीकारण उनको नियुक्तिको औचित्यमाथि प्रश्न उठेको थियो।
छुम्बीलाई हटाएर शाहलाई मौका
क्यानको विधानमा राखेपबाट दुईजना बोर्ड सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ। यसअघि त्यही व्यवस्थाअनुसार छुम्बी लामा क्यानको मनोनीत बोर्ड सदस्य बनेका थिए।
नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाइएको थियो। त्यसपछि रिक्त पदमा शाहलाई नियुक्त गरिएको थियो। तर, उनको नियुक्ति लामो समय टिक्न सकेन।
खेलकुद ऐनमा खेल संघको कार्यसमितिमा राखेपका दुई प्रतिनिधि अनिवार्य राख्नुपर्ने व्यवस्था २०७७ सालमै हटाइएको थियो। यद्यपि, क्यानको विधानमा भने राखेपबाट दुई जना बोर्ड सदस्य मनोनीत गर्ने प्रावधान अझै कायम छ।
अधिकार
क्यानको बोर्ड सदस्य पद प्रतिष्ठाका दृष्टिले महत्त्वपूर्ण मानिए पनि मनोनीत सदस्यको अधिकार निर्वाचित सदस्यको जस्तो हुँदैन। मनोनीत सदस्यले बोर्ड बैठकमा सहभागी भएर बोल्न त पाउँछन् तर मताधिकार हुँदैन।
क्यानका पदाधिकारी र बोर्ड सदस्यले नियमित मासिक तलब पाउँदैनन्। बोर्ड बैठकमा सहभागी हुँदा भत्ता पाउने व्यवस्था छ । आवश्यक परेमा विदेश भ्रमणका अवसर मिल्न सक्छन्।
क्यानको नियमावलीमा मनोनीत सदस्यलाई बोर्डले थप जिम्मेवारी दिन सक्ने भनिएको छ। यसअघि मनोनीत सदस्य रहेका छुम्बी लामाले क्यान प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । शाहको नियुक्ति १० दिनमै खारेज हुँदा सरकारको परिपक्वतामाथि पनि प्रश्न उठाएको छ।


प्रतिक्रिया