काठमाण्डु- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीबाट २०७९ र २०८२ मा निर्वाचित जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
आगामी मंसिर २१ गतेदेखि छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा समूहले स्थानीय तह, प्रदेश र संघीय संसद्का जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।
देउवा पक्षको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई परिपत्र गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
परिपत्रअनुसार कांग्रेसका तर्फबाट निर्वाचित भएका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि हुने उल्लेख गरिएको छ।
‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहका कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरू आ-आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।
अधिवेशन नसकिँदै महाधिवेशन
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। तर, तल्लो तहका अधिवेशनहरू निर्धारित कार्यतालिकाअनुसार भइसकेका छैनन्।
देउवा पक्षले पूर्वमहामन्त्री एवम् बीपी कोइराला पुत्र शशांक कोइरालालाई १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएर जिल्ला संयोजकहरू तोकिरहेको छ। यो समूहले गत असोज १५ गते नै वडा अधिवेशन गर्ने लक्ष्य राखेको थियो । तर असोज २८ सम्म कयौँ वडामा अधिवेशन हुनै सकेको छैन।
१५औँ महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले अहिलेसम्म ६ हजार १०७ वडामा अधिवेशन भएको बताए । देशभरका ६ हजार ७४३ वडामध्ये ६३६ वडामा अधिवेशन भएको छैन।
४८० पालिकामा अधिवेशन
देउवा पक्षले ७५३ स्थानीय तहमध्ये करिब आधामात्रै अर्थात् ४८० पालिकामा अधिवेशन गरेको छ। देउवा समूहले कोशीका ८९, मधेशका ५४, बागमतीका ७०, गण्डकीका ५०, लुम्बिनीका ८६, कर्णालीका ५५ र सुदूरपश्चिमका ७६ पालिका अधिवेशन गरेको जनाएको छ।
हुन सकेन प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
यो समूहले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १७० वटामा अधिवेशन भएको जनाएको छ। कोशीमा ३४, मधेसमा २६, बागमतीमा ४०, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा १४ र सुदूरपश्चिममा १८ प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिएको छ।
संघीय संसद्का १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ८५ वटामा अधिवेशन भएको छ। कोशीका १७, मधेशका १३, बागमतीका २०, गण्डकीका ७, लुम्बिनीका १२, कर्णालीका ७ र सुदूरपश्चिमका ९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भएको छ।्
महाधिवेशन तयारी
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन सकिसक्दा देउवा पक्षले आगामी मंसिर २१ गतेदेखि महाधिवेशन गर्दैछ। यो समूहले आगामी कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ सम्म पन्ध्रौँ महाधिवेशन गर्ने जनाएको छ।
थापा नेतृत्वमा देउवा पक्षलाई २०८२ मसान्तमा भएको दोस्रो विशेष महाधिवेशनबाट पाखा लगाइएको थियो । कांग्रेसले यही असोज १८ गतेबाट २३ सम्म १५औँ महाधिवेशन गरेर नयाँ नेतृत्व पनि छानेको छ।
थापा नेतृत्वको कांग्रेसले नयाँ नेतृत्व छानि सक्दा अब देउवा समूहले कार्यकर्ता तान्न सबै जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिध बनाउने नयाँ रणनीति लिएको हो।


प्रतिक्रिया