काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक गरेका छन्।
वेबसाइटमार्फत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधि र भूराजनीतिसम्बन्धी विषयमा अध्ययन अनुसन्धानका निष्कर्ष तथा नीतिगत बहस सार्वजनिक गरिने भएको छ।
इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले नेपालले सामना गरिरहेका विभिन्न चुनौतीको अध्ययन अनुसन्धान गर्दै नीतिनिर्माता र विषयविज्ञलाई एउटै मञ्चमा ल्याएर छलफल गराउँदै आएको छ।
ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख र राष्ट्रिय विकासका एजेन्डामा योगदान पुर्याउने लक्ष्य प्रतिष्ठानले राखेको रिमालले बताए।
पाँच विधामा सामग्री
अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समेटिएका छन्।
वेबसाइटमा इन्स्पायरले यसअघि आयोजना गरेका नीतिगत बहसका कार्यपत्र र जर्नल आलेख प्रकाशित गरिएका छन्। प्रारम्भिक रूपमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश गरिएको छ।
प्रकाशित सामग्रीमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसांख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्वको अर्थराजनीति, शक्ति सन्तुलन, आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन र समाजको वर्ग विश्लेषणलगायत विषय छन्। वेबसाइटमा ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ लगायतका शीर्षक पनि समावेश छन्।
नीतिगत बहसका विचार ‘पोलिसी ल्याब’मा
इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीले वेबसाइटमा प्रकाशित सामग्रीमाथि हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचारलाई ‘पोलिसी ल्याब’मा समेटिने जानकारी दिए।
वेबसाइटमार्फत राजनीतिबाहिर भइरहेका बहस र समाजमा उठिरहेका विषयलाई राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास गरिएको रिमालले बताए। एमालेको नीतिगत पक्षलाई अध्ययन, अनुसन्धान र सार्वजनिक बहसका माध्यमबाट बलियो बनाउने उद्देश्यसमेत प्रतिष्ठानले राखेको उनको भनाइ छ।
वेबसाइटको नेपाली भाषाको सम्पादक रामशरण बजगाईं र अंग्रेजी भाषाको सम्पादक बालकृष्ण कट्टेल रहेका छन्। वेबसाइटमा प्रकाशित सामग्रीका विषयमा डा. युवराज खतिवडा, प्रा. डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले आआफ्ना धारणा राखेका थिए।


प्रतिक्रिया