काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्।
करिब ११ महिनाको तालिम सम्पन्न गरेका उनीहरू बिहीबार दीक्षित भएसँगै राष्ट्र र नागरिकको सेवामा खटिन कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।
राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा देशका विभिन्न तालिम शिक्षालयमा सञ्चालित आधारभूत तालिम पूरा गरेका जवानहरू दीक्षित भएका हुन्।
दीक्षित जवानमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनी, नुवाकोटबाट सबैभन्दा बढी २३३ जना रहेका छन्।
त्यसैगरी, सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाटबाट १२५ जना र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना दीक्षित भएका छन्।
कुन शिक्षालयबाट कति जवान दीक्षित?
सशस्त्र प्रहरी बलका अनुसार विभिन्न १० वटा प्रशिक्षण केन्द्रबाट दीक्षित जवानको विवरण यस्तो छ :
- राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थ : १२३ जना
- पाथिभरा जवान तालिम शिक्षालय, झापा : ११७ जना
- दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरी : ११६ जना
- संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनी, नुवाकोट : २३३ जना
- विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार : ११९ जना
- हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखरा : ११५ जना
- सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट, नवलपरासी (पश्चिम) : १२५ जना
- सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौबस्ता, बाँके : ११६ जना
- राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय, टीकापुर, कैलाली : ११३ जना
- बडिमालिका जवान तालिम शिक्षालय, वनभेहडा, कैलाली : ११९ जना
अब कार्यक्षेत्रमा
तालिमका क्रममा प्रशिक्षार्थीहरूले फौजी ज्ञान, सीप, कला-कौशल तथा व्यावसायिक दक्षता हासिल गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
तालिमले उनीहरूमा अनुशासन, इमानदारिता, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता र सांगठनिक जिम्मेवारीबोध अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्दै उच्च व्यावसायिक मर्यादा, नैतिक आचरण र जवाफदेहितासहित काम गर्न दीक्षित जवानहरूलाई प्रेरित गरिएको छ।
उनीहरूलाई राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता र सुरक्षाको संरक्षणसँगै नागरिकको सेवामा समर्पित हुनुपर्ने जिम्मेवारी रहेको संगठनले जनाएको छ।
सरकारको सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहितासम्बन्धी नीतिलाई आत्मसात् गर्दै दीक्षान्त कवाज मितव्ययी, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ।








प्रतिक्रिया