नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही स्वयंले लिनुपर्छ, पार्टीले भार बोक्दैन : सभापति थापा

नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही स्वयंले लिनुपर्छ, पार्टीले भार बोक्दैन : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्।

शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा जोड दिए ।

उनले दलहरू पब्लिकको प्रोपर्टी भएकाले यसमा आम जनता र कार्यकर्ताको समान हक लाग्ने बताए। ‘पार्टी कुनै नेताको प्राइभेट कम्पनी होइन। यो सार्वजनिक सम्पत्ति हो, जसमा सबैको बराबर हक लाग्छ,’ थापाले भने।

थापाले व्यक्तिको आचरण र पार्टीको सिद्धान्तलाई अलग–अलग राखेर हेर्नुपर्ने बताए। यदि पार्टीका नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही सम्बन्धित व्यक्ति नै हुनुपर्ने उनले स्पष्ट पारे । त्यसको भार पार्टीले नबोक्ने पनि उनले बताए ।

उनले भने, ‘खराब आचरण व्यक्तिको हुन्छ, पार्टीको हुँदैन। यदि मेरो आचरणमा प्रश्न उठ्यो भने त्यसको प्रतिवाद मैले गर्ने हो, पार्टीले गर्ने होइन ।’ उनले व्यक्तिगत जीवनका विषयलाई कांग्रेसको संस्थागत दायित्वसँग जोड्न नहुने तर्कसमेत गरे।

थापाले कांग्रेसभित्र रहेका विकृति र विसङ्गतिलाई आफूहरूले क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए। पार्टीभित्र देखिएका कमी–कमजोरीलाई उनले ‘फोहोर’ को संज्ञा दिँदै त्यसलाई सफा गर्दै अघि बढ्ने बताए।

थापाले पार्टी नेतृत्व चयन गर्न सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने पनि बताए । पार्टीको नेतृत्व चयन प्रक्रियामा व्यापक सुधारको आवश्यकता रहेको भन्दै सबै सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गर्ने तयारीमा आफूहरू लागेको उनले बताए ।

थापाले भने, ‘पार्टीको नीति बनाउन महासमिति सदस्य चयन गरौँ, तर नेतृत्व चयन भने सबै कार्यकर्ताले मतदान गर्ने प्रणाली बसाउनुपर्छ ।’ उनले वर्तमान बहुस्तरीय अधिवेशन प्रणाली व्यावहारिक नभएको भन्दै यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रको निर्वाचन प्रक्रियामा जित्ने र हार्ने दुवै पक्षलाई संयमित हुन उनले आग्रह गरे । ‘निर्वाचनमा पराजित हुनुलाई असफलताका रूपमा मात्र हेर्न नहुने भन्दै थापाले भने, ‘जित्ने साथीहरू मात्र योग्य र हार्ने अयोग्य भन्ने हुँदैन । मैले भोट दिएका केही साथीहरू पनि पराजित हुनुभएको छ । जित्नेले हस्तिनापुर नै जितेको र हार्नेले सबै गुमाएको भन्ने होइन’, थापाले भने ।