बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…

बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मन्त्रिपरिषदले गत २ असोजमा भारत, चीन, अमेरिकासहित विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस ग-यो ।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गरिएको दाबी सरकारी अधिकारीहरुले गरेका थिए ।

तर, खुला प्रतिस्पर्धाबाट छानिएको भनिएको राजदूत नियुक्ति पनि विवादरहित हुन सकेन । सयौं आवेदन परेकामा परराष्ट्र मन्त्रालयले १३ मुलुकको राजदूतका लागि ३३ जनाको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद कार्यालयमा ३३ को नाम पुगेपछि त्यसमध्येबाट कसलाई कुन देशको राजदूतको जिम्मेवारी दिने भन्ने विषयमा प्रधानमन्त्री, प्रधानमन्त्री सचिवालय, दुई मन्त्री र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रहेको एउटा ह्वाट्स एप ग्रुप बनाइयो ।

ग्रुपमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन), अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल ‘एड’ थिए ।

उक्त ग्रुपमा सिफारिसमा परेकाहरुका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री खनालले गिरीबहादुर (गिरबहादुर) सुनार र चूडामणि खरेलको नाम ३३ जनाभित्र अटाउन चाहँदैनथे ।

सुनार र खनालको विवादित पृष्ठभूमि भएकाले उनीहरुलाई सिफारिस गर्न नहुने मत उनको थियो । तर, ‘हाई कमाण्ड’ ले ती दुई छुट्नै नहुने अडान राखेपछि खनालले सिफारिसमा पारे ।

श्रोतका अनुसार मन्त्रिपरिषदले निर्णय गर्नुअघि ५ जनाको ह्वाट्स एप ग्रुपमा पनि खनालले सुनार र खरेललाई राजदूत बनाउँदा आफूहरुको सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धतामा प्रश्न उठ्ने अडान राखेका थिए ।

खनालले सुनारको आर्थिक अपारदर्शीता, प्रहरी सरुवा बढुवामा रकम चलखेल र महिलासँगको सम्बन्ध तथा खरेलको ठगी धन्दाबारे ग्रुपमै बेलिबिस्तार लगाएका थिए ।

बुधबार संसदीय सुनुवाइ समितिले सुनार र खरेल दुवैको नाम अस्वीकृत गरेपछि उनीहरूको सिफारिसका क्रममा भएका छलफल, विवाद र नियुक्ति प्रक्रियाबारे बहस जारी छ ।

सुनार साउदी अरेयिबा र खरेल मलेसियाका लागि प्रस्तावित थिए । सुनारविरुद्ध महिला हिंसा, धम्की तथा आचरणसम्बन्धी विषयमा उजुरी परेको थियो ।

यस्तै उनको रास्वपा सांसद् खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ सँगको आवद्धता तथा एक कार्यक्रमका लागि भाषा अनुवादकका रुपमा जर्मनी गएर भिसा अवधि सकिएपछि गैरकानूनी रुपमा (ओभर स्टे) बसेपछि देश निकाला (डिपोट) भएको जस्ता उजुरी थिए ।

संसदीय समितिसँगको बयानमा सुनारले घरमा श्रीमती हुँदैहुँदै अर्की विवाहित महिलासँग सम्बन्धमा रहेको स्वीकार गरेका छन् । १० वर्षसम्म आफू महिलासँग बसेको र ती महिलाबाट आफ्नो सन्तान समेत जन्मिएको उनले स्वीकारे ।

गर्भ सात महिनाको भएपछि महिला अमेरिका गएको र उतै छोरी जन्मिएको उनको भनाइ छ । तर, सम्बन्ध बिग्रिएपछि आफूहरुबीच ‘राम्रै झगडा भएको’, उनले बताए ।

सम्बन्ध चिसिएपछि सुनारले महिलाका श्रीमान, सासु–ससुरा, आफन्त र चिनजानका अन्य व्यक्तिलाई समेत अन्तरंग भिडियो र तस्बिर पठाएको समतिलाई बताए ।

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको उठबस र घरजग्गा कारोबारमा अनियमिततासम्बन्धी उजुरी परेको थियो ।

खरेलसँग सांसदहरुले राजदूत भएपछि मलेसियाका लागि कामदार कोटा मिलाइदिने भन्दै म्यानपावर व्यवसायी विजय मिश्रको ‘एडभान्जर ओभरसिज’ बाट दुई करोड रुपैयाँ लिएको विषयमा सोधपुछ गरेका थिए ।

खरेलले मिश्रले उपहारमा दिएको बा२०च ५३९ नम्बरको टोयोटा आरएभी–४ गाडी चढ्ने गरेको खुलासा भएको छ ।

यस्तै खरेल मलेसिया कामदार पठाउँदै आएको अर्को एक म्यानपावर कम्पनीमा प्रमुख अभिकर्ताका रुपमा समेत काम गर्दै आएको पुष्टि भएको छ ।

खरेल योग महासंघको महासचिव रहेका बखत संस्थाको लाखौँ रुपैयाँ घोटाला भएको प्रकरणमा समेत मुछिएको पाइएको छ ।

उनीमाथि तराईका जिल्लामा वन क्षेत्रको जग्गा व्यक्तिका नाममा गरिदिने भन्दै करोडौं रकम असुली गरेको आरोप पनि उनीमाथि छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार मन्त्री खनालले ह्वाट्स एप ग्रुपमा कुनै पनि हालतमा यी दुईलाई राजदूत बनाउन नहुने भन्दै खुलेर आफ्नो अडान राखेका थिए ।

तर, प्रधानमन्त्री र उनको टिमका सदस्यले खनालको परिपक्वता र दूरदृष्टिपूर्ण सुझावलाई गम्भीर रुपमा नलिँदा राजदूत नियुक्ति विवाद हुन पुगेको तर्क ती अधिकारीको छ ।