काठमाण्डु– काठमाण्डुबाट खोटाङतर्फ आउँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। घटनामा तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जनाको उद्धार गरिएको छ।
शनिबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुमो नदीमा खसेको हो। दुर्घटनामा परेको गाडी नदीमा आधा डुबेको अवस्थामा फेला परेको छ।
चालकसहित १० जना सवार रहेको बुझिएको सुमोमा २९७६ नम्बर उल्लेख छ। दुर्घटनामा मृत्यु भएका र बेपत्ता भएका ६ जनाको पहिचान खुल्न सकेको छैन।
स्थानीय राकेश पोखरेलका अनुसार उद्धार गरिएका चार जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
उद्धार गरिएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र ओखलढुंगाका सुमो चालक आशिष बिष्ट छन्।
घाइतेहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ।


प्रतिक्रिया