कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु, ४५ भन्दा बढी घाइते

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु, ४५ भन्दा बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलकाता– भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

घटनामा ४५ जनाभन्दा बढी घाइते भएका छन्। मृतकमा दुई बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार साँझ कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा उक्त घटना भएको हो। महासप्तमीका अवसरमा दर्शनार्थीको ठूलो भीड लागेको बेला वर्षा भएपछि मानिसहरू ओत लाग्न पण्डालभित्र प्रवेश गर्न खोजेका थिए।

शनिबार साँझ करिब ७ः४० बजे भीडको चाप बढ्दै जाँदा धकेलाधकेल भएको र त्यसपछि भागदौड मच्चिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

सीमित संख्यामा मात्रै मानिसलाई प्रवेश दिने व्यवस्था भए पनि एकैपटक ठूलो संख्यामा मानिस पसेपछि स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ।

भीडको चापले पण्डालको एक भागसमेत भत्किएको थियो। प्रत्यक्षदर्शीका अनुसार मानिसहरू एकमाथि अर्को खस्दा अगाडि लडेका व्यक्तिहरू उठ्न सकेनन्।

घटनापछि घाइतेहरूलाई कोलकाता मेडिकल कलेजलगायतका अस्पतालमा पुर्‍याइएको थियो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी अस्पताल पुगेर घाइतेको उपचार र घटनाको अवस्थाबारे जानकारी लिएका छन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले पूजा आयोजक समितिका पदाधिकारी, निजी सुरक्षाकर्मी तथा स्वयंसेवकसहित १२ जनालाई पक्राउ गरेको जनाएको छ। घटनामा लापरबाही भएको वा नभएकोबारे अनुसन्धान भइरहेको छ।

सरकारद्वारा क्षतिपूर्ति घोषणा

मुख्यमन्त्री अधिकारीले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका छन्।

घाइतेलाई जनही पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराइने तथा उपचार खर्च राज्य सरकारले बेहोर्ने बताइएको छ।

भारतका प्रधानमन्त्रीले पनि मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।

घटनापछि कोलकाताका अन्य प्रमुख दुर्गा पूजा पण्डालमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। अत्यधिक भीड हुने केही पण्डालमा दर्शनार्थीको प्रवेश रोकिएको छ।

पश्चिम बंगाल सरकारले राज्यभरका दुर्गा पूजा पण्डालको सुरक्षा व्यवस्थाको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।

चोरबागानको दुर्गा पूजा पण्डाल ९१ वर्ष पुरानो हो। यस वर्षको विशेष सजावट र फरक अवधारणाका कारण यहाँ ठूलो संख्यामा दर्शनार्थी पुगेका थिए।