एमएलएसमा निरन्तर मेस्सीको जादु, एटलान्टाविरुद्ध दुई गोलसहित दिलाए मियामीलाई जित

एमएलएसमा निरन्तर मेस्सीको जादु, एटलान्टाविरुद्ध दुई गोलसहित दिलाए मियामीलाई जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्जेन्टिनाबाट विश्राम लिएका लियोनेल मेस्सी क्लब फुटबलमा झनै आक्रमक देखिएका छन्। शनिबार एटलान्टाविरूद्ध दोस्रो हाफमा व्यक्तिगत कौशल देखाउँदै दुई गोल गरे।

त्यससँगै एमएलएसमा उनको गोलसंख्या २५ पुगेको छ। इन्टर मियामीले एटलान्टा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले हरायो।

मेक्सिकोका स्ट्राइकर जर्मान बेर्तेरामेले ४५औँ मिनेटमा मियामीलाई अग्रता दिलाएपछि दोस्रो हाफमा मेस्सीले चार मिनेटभित्र दुई गोल गरे।

५६औँ मिनेटमा दायाँतर्फबाट बल लिएर अघि बढेका मेस्सीले पेनाल्टी क्षेत्रको छेउमा बेर्तेरामेसँग पास साटे। त्यसपछि एटलान्टाका एक डिफेन्डरलाई छक्याउँदै उनले बललाई तल्लो कुनाबाट जाली चुमाए।

उनको दोस्रो गोल पनि उस्तै शैलीको थियो। लुइस सुआरेजले उनलाई काउन्टर अट्याकमा बल दिए। मेस्सीले फेरि एक डिफेन्डरलाई छक्याएर बायाँ खुट्टाले प्रहार गरे र एटलान्टाका गोलकिपर लुकास होयोसलाई बिट गरे।

खेलको अन्त्यतिर मियामीका पूर्व फरवार्ड फाफा पिकोल्टले पेनाल्टीबाट गोल गर्दै एटलान्टाका लागि सान्त्वना दिलाए।

खेलपछि मियामीका प्रशिक्षक क्रिस्टियन ‘किली’ गोन्जालेजले मेस्सीबारे भने, “उनले विश्वलाई चकित पार्न कहिल्यै छाड्दैनन्। साँच्चै भन्नुपर्दा, ३९ वर्षको उमेरमा उनी जे गरिरहेका छन्, त्यसमा मलाई विश्वासै लाग्दैन। उनी साँच्चै खुसी देखिनु मलाई सबैभन्दा राम्रो लाग्छ। खुसी भएकैले उनी आफूभित्रको सबै कुरा दिन्छन्। उनी रमाउँछन्, आफू घरमै भएको महसुस गर्छन्।

‘मैले सधैँ भन्ने गरेको छु-उनले हामीलाई हरेक दिन अझ राम्रो बन्न प्रेरित गर्छन्। उनी यहाँ हुनु ठूलो खुसीको कुरा हो। हाम्रो सम्बन्ध कति विशेष छ भन्ने सबैलाई थाहा छ। उनलाई देख्दा मेरो अनुहारमा मुस्कान आउँछ। उनीबाट म अझै पनि निरन्तर चकित हुन्छु।’

शनिबारको खेल सकिँदा एमएलएसको गोल्डेन बुट दौडमा मेस्सीले दोस्रो स्थानका खेलाडीमाथि ६ गोलको अग्रता बनाएका थिए। असिस्टतर्फ पनि उनी एलएएफसीका सन ह्युङ-मिनसँगै १५ असिस्टसहित शीर्ष स्थानमा छन्। बेर्तेरामेको पहिलो गोलमा मेस्सीले दोस्रो असिस्ट गरेका थिए।

एमएलएसको इतिहासमा लगातार तीन सिजन १५ असिस्ट गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन्। क्लब र राष्ट्रिय टोलीका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गरेका उनले आफ्नो करिअरकै दोस्रो लामो यस्तो लय बराबरी गरेका छन्।

शनिबारको दुई गोलसँगै मेस्सीको करिअर गोलसंख्या ९३६ पुगेको छ। उनका प्रशिक्षकलाई मेस्सीले १,००० गोलको आँकडा पार गर्नेमा कुनै शङ्का छैन।

‘हो, मलाई विश्वास छ, उनी १,००० गोलमा पुग्नेछन्,’ गोन्जालेजले भने, ‘मलाई त्यसमा भरोसा छ। उनी चुनौती मन पराउँछन् र आफैँलाई लक्ष्य दिन्छन्। अरू सबै हासिल गरिसकेकाले यो लक्ष्य पनि अपवाद हुनेछैन।’

उनले थपे, ‘मैदानमा होस् वा अभ्यासमा, उनको हरेक गतिविधिले मलाई चकित पार्छ। उनले सन्यास लिने निर्णय गर्ने दिनसम्म हामीलाई चकित पारिरहून् भन्ने मेरो चाहना छ। त्यो दिन अझै धेरै टाढा होस् भन्ने आशा गर्छु।’

शनिबारको प्रदर्शनले आठपटकका बालोन डी’ओर विजेता मेस्सीलाई एटलान्टाको मर्सिडिज-बेन्ज स्टेडियममा अर्को सम्झनलायक क्षण दियो। जुलाईमा भएको २०२६ विश्वकपको सेमिफाइनलपछि उनी पहिलोपटक त्यहाँ खेलेका हुन्। उक्त सेमिफाइनलमा मेस्सीले खेलको अन्तिम समयमा दुई असिस्ट गर्दै अर्जेन्टिनालाई इंग्ल्यान्डविरुद्ध नाटकीय जित दिलाउन मद्दत गरेका थिए।

यसै महिनाको सुरुतिर बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना राष्ट्रिय टोलीबाट बिदाइ लिएयता मेस्सीले तीन खेलमा चार गोल गरेका छन्।

बुधबार प्लेअफमा स्थान पक्का गरेको मियामीले लगातार तीन खेल जितेको छ। पूर्वी सम्मेलनमा शीर्ष स्थानको न्यासभिलपछि मियामी दोस्रो स्थानमा छ।

मेस्सीका मियामी र अर्जेन्टिनाका पूर्व प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोको नेतृत्वमा रहेको एटलान्टा पूर्वी सम्मेलनको १४औँ स्थानमा छ। प्लेअफमा पुग्न उसले अब कठिन चुनौती सामना गर्नुपर्नेछ। मियामीले अर्को शनिबार न्यूयोर्क रेड बुल्सको मैदानमा खेल्नेछ।