काठमाण्डु – वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आईतबार जानकारी गराएको छ ।
‘समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्यौँ । विराटनगर किङ्समा स्वागत छ,’ विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट इण्डिजका लागि एउटा टेष्ट, ५६ एकदिवसीय अन्तरराष्ट्रिय र ८६ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तरराष्ट्रियमा १ हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् ।
टी–२० अन्तरराष्ट्रियमा उनले १ हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । अन्तरराष्ट्रिय क्रिकेटसँगै रसेलले विश्वका विभिन्न व्यावसायिक फ्रेन्चाइज लिगमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।
इण्डियन प्रिमियर लिग (आईपीएल) मा उनले दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबाट खेलेका छन् । आईपीएलमा उनको नाममा २ हजार ६५१ रन र १२३ विकेट छन् । उनले सन् २०१४ र २०२४ मा कोलकाताबाट आईपीएलको उपाधि जितेका थिए ।
रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग (बीपीएल), बिग बास लिग (बीबीएल), इन्टरनेसनल लिग टी–२० र मेजर लिग क्रिकेटलगायत प्रतियोगिता पनि खेलिसकेका छन् ।
रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेष्ट इन्डिज टोलीका सदस्यसमेत थिए । उनी अब एनपीएलमा पनि आफ्नो छाप छोड्न चाहन्छन् ।


प्रतिक्रिया